काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली विवादलाई अराजनैतिक गतिविधिको संज्ञा दिएको छ।
प्रचण्डको स्वकीय सचिव गंगा दाहालले मंगलवार सामाजिक सञ्जालमार्फत् कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि अन्तत: असफल भएको बताएकी हुन्।
'कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्तत: असफल भएको छ।पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न सकारात्मक भुमिका खेल्नुहुने सम्पुर्ण कमरेडहरुलाई बधाई छ, दाहलले भनेकी छिन्।
कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्तत: असफल भएको छ। पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न सकारात्मक भुमिका खेल्नुहुने सम्पुर्ण कमरेडहरुलाई बधाई छ✊✊
Posted by Ganga Dahal on Tuesday, October 13, 2020
आइतवार कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध यामलाल कँडेलको नेतृत्वमा १८ सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। यसले नेकपा विवाद चुलिएको थियो।
सो क्रममा मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहीलाई हटाएर सचेतक नेपालीलाई उक्त पदमा नियुक्त गरेका थिए।
नेताहरुको आन्तरिक छलफलपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा हस्ताक्षर गर्ने सात सांसद ब्याक भएका छन्। मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन्।
माओवादी कोटाबाट शाही कर्णाली प्रदेशका मुख्यमन्त्री निर्वाचित हुनुअघिदेखि नै यामलाल कँडेलले असन्तुष्टि राख्न थालेका थिए।
मुख्यमन्त्री र नेपाल पक्षका नेताहरुबीच आज भएको छलफलमा छिट्टै मन्त्रीमण्डल पुनर्गठन गर्ने सहमती भएको छ। जसमा नेपाल पक्षका अमरबहादुर थापा, चन्द्र बहादुर शाही र करवीर शाहीलाई मन्त्री बनाउने सहमती भएको छ।
