PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

संक्रमितको मृत्यु हुँदा समयमै उठ्दैन शव : परिवार, प्रशासन र नेपाली सेनाको आनाकानीले अस्पताललाई आपत



फूलमाया पुरी

संक्रमितको मृत्यु हुँदा समयमै उठ्दैन शव : परिवार, प्रशासन र नेपाली सेनाको आनाकानीले अस्पताललाई आपत

विराटनगर : कोभिड अस्पताल र नन-कोभिड अस्पताल सञ्चालन गर्दै आएको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मंगलवार बिहानै कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत दुई संक्रमितको मृत्यु भयो।

मोरङको विराटनगर महानगरपालिकाका ४५ वर्षीय पुरुष र सुन्दर हरैंचा नगरपालिकाका ४३ वर्षीय पुरुषले कोरोना संक्रमणका कारण ज्यान गुमाए। मंगलवार मृत्यु भएका दुई जनासहित हालसम्म अस्पतालको कोभिड आइसोलेसनमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। शव व्यवस्थापनमा भने समस्या उत्पन्न हुन थालेको बताउँछन् अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देव।

देवका अनुसार अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएपश्चात अस्पतालले जिल्ला प्रशासनमा खबर गर्ने गरेको छ। त्यस्तै, सम्बन्धित स्थानीय निकायमा पनि। तर, शव व्यवस्थापन गर्दै आएको नेपाली सेनालाई भने सिधै सम्पर्क गर्न सक्दैन। प्रशासन, नेपाली सेना र स्थानीय सरकारसँग समन्वय र सहकार्य समयमै नहुँदा अस्पतालमा असहज परिस्थित सिर्जना भएको उनी बताउँछन्।

‘संक्रमितको मृत्यु हुनासाथ हामी प्रशासनलाई खबर गर्छौं’, देवले भने, ‘तर, प्रशासन भन्छ, स्थानीयलाई खबर गर, स्थानीय भन्छ प्रशासनले कुनै निर्देशन नै गरेको छैन।’

यदि स्थानीय सरकारले आफ्नो क्षेत्रका संक्रमणबाट मृत्यु भएकाको शव उठाउनका लागि शव वाहन पठाएपनि वाहनसम्म शव कसले पुर्याभउने भन्ने प्रश्न उठेको उनले बताए।

‘गाउँपालिकाले शव वाहन पठाउँछ त्यो पनि दुई दिनपछि नेपाल आर्मीले उठाउँछ भनेर तर नेपाल आर्मीले अस्पतालले उठाउँछ भन्छ, त्यसैले पनि थप समस्या सिर्जना भएको छ,’ उनले भने।

त्यसो त कोरोना संक्रमणबाट मृत्यु भएकाले नेपाल सरकारको प्रोटोकल अनुसार शव व्यवस्थापन गर्नुपर्ने नियम छ। संक्रमितको मृत्यु भएपश्चात मृतकका परिवार पनि प्रोटोकललाई आधार बनाई शव व्यवस्थापनबाट पन्छिने गरेको देवको भनाइ छ।

‘हामीले देख्न पनि पाउँदैनौं छुन पनि मिल्दैन हाम्रो रीतिरिवाज अनुसार क्रियाकर्म गर्न नपाएपछि हामी यहाँ बसेर के गर्नु भन्ने अस्पतालतर्फ नै प्रश्न तेर्साउँछन्’, उनले गुनासो पोखे, ‘अब नेपाली सेनाले शव व्यवस्थापन गर्छ भन्दै मृतकका परिवार पनि शव छोडेर जान्छन्।’

तीन दिनसम्म उठेको थिएन शव

गत असोज १५ गते छ वर्षीय बालकको कोरोना संक्रमणबाट मृत्यु भयो। जनकपुरका ती बालकको मोरङस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको कोभिड आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो।

कोरोना संक्रमणबाट मृत्यु भएकाले सामान्य अवस्थामा जस्तो परिवारले शव बुझ्ने अवस्था थिएन। त्यसैले बालकको शव नबुझी परिवार अस्पतालबाट सम्पर्क विहीन भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए।

उनका अनुसार अस्पतालकै बारम्बार पहलमा प्रशासनसँग समन्वय गरी स्थानीय सम्बन्धित निकायमा सम्पर्क भएको थियो। त्यसपछि स्थानीय निकायले पठाएको शव वाहनमा बालकको शव पठाइएको थियो।

संक्रमण फैलिन नदिन कोरोना संक्रमितको मृत्यु भएमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आइरहेको छ। पछिल्लो समय दिन प्रतिदिन संक्रमितको मृत्यु संख्या बढिरहेको अवस्थामा शव व्यवस्थापन फितलो बन्दै गएको विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल कोभिड आइसोलेसन इन्चार्ज देवले बताए।

कम्तिमा पनि मृत्यु भएको ६ देखि ८ घण्टाको बिचमा अस्पतालबाट शव व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। अहिले गर्मीको मौसम र भाइरल इन्फेक्सन बढ्दो देखिएकाले चाँडो शव व्यवस्थापनमा जोड दिनुपर्ने उनले बताए।

अस्पतालमा लक्षणसहितका १५६ जना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये १२ जना आइसीयूमा उपचाररत छन् भने ५ जना भेण्टिलेटरमा उपचाररत रहेको उनले जानकारी दिए।

संक्रमितहरु बढिरहेको अवस्थामा भेण्टिलेटर र आइसीयूको अभावसँगै शव व्यवस्थापनको समस्या पनि बढिरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell