PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

प्रदेश २ मा कोरोना संक्रमणका कारण एकै दिन ४ जनाको मृत्यु, मृतकको संख्या १५३ पुग्यो



राधेश्याम पटेल

प्रदेश २ मा कोरोना संक्रमणका कारण एकै दिन ४ जनाको मृत्यु, मृतकको संख्या १५३ पुग्यो

वीरगंज : प्रदेश २ मा कोरोना संक्रमणले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका ३ जना पुरुष र सप्तरीका एक महिला रहेका छन्।

प्रदेश २ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सर्लाही, चक्रघाटा गाउँपालिका-१ का ३१ वर्षीय पुरुष, वाग्मती नगरपालिका-११ का ७० वर्षीय पुरुष, हरिवन नपा-१० का ३० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरी, सप्तरी डाकेश्वरी नपा-७ ललितपुरका ६६ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले बताए।

यसरी प्रदेश २ मा हालसम्म १५३ जनाको कोरोनाले मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ। जस अनुसार पर्सामा ४६, बारामा १८, रौतहटमा ८, सर्लाहीमा १२, महोत्तरीमा १५, धनुषामा १८, सिरहामा १५ र सप्तरीमा १५ जना गरी कुल १५३ जनाको मृत्यु भएको जनाइएको छ।

त्यसैगरी, प्रदेश २ मा पछिल्लो २४ घण्टामा ८९ जनामा नयाँ कोरोना पुष्टि भएको बताइएको छ। जसमा धनुषामा ३, सिरहामा ७, बारामा २, पर्सामा ८, सर्लाहीमा ५, रौतहटमा २, सप्तरीमा ४८ र अन्य जिल्लाका ४ जना गरी कुल ८९ जनामा थप कोरोना पुष्टि भएको मन्त्रालयका वरिष्ठ चिकित्सक डा कमलेश यादवले जानकारी दिए।

प्रदेश २ मा हालसम्म १ लाख २७ हजार ९ सय २ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा हालसम्म १४ हजार ३ सय ११ जनामा कोरोना पोजिटिभ आएको छ भने १ लाख १२ हजार ४ सय ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ। १ हजार १ सय ७४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ भने १ हजार ८ सय ७५ वटा केस सक्रिय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell