वीरगंज: पर्सामा भएको एक वीभत्स हत्याको रहस्य खुलेको छ। ६ दिनअघि पर्साको कालिकामाई गाउँपालिका ४ स्थित गंगोल नदीमा हत्यापछि फालिएको महिलाको शव फेला परेको थियो। प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा सोमबार एक जनालाई पक्राउ गरेको छ।
घटनाको मुख्य अभियुक्त रहेको अभियोगमा प्रहरीले हेटौँडाबाट कालिकामाई गाउँपालिका २ का सैफुल खान पठानलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले बताए। भारत युपी रामकोला ग्राम सुरजपट्टी माइती घर भई कालिकामाई -४ मा बस्दै आएकी रेहाना भन्ने मैरुन नेसाको हत्या भएको थियो।
‘हत्या गरिएकी महिला आफ्नो पतिसँग सम्बन्ध विच्छेद गरी पठानसँग श्रीमतीकै रूपमा उसकै घरमा बस्दै आएको पाइयो’, कुँवरले भने, ‘पठानले गाउँका अन्य पुरुषसँग पनि ती महिलाको अनैतिक सम्बन्ध भएको थाहा पाएपछि रातको समयमा हत्या गरी फालेका हुन्।’
प्रारम्भिक बयान अनुसार रातिको समयमा ती महिलालाई फकाएर नदीको किनारमा लगेको र खेल खेलौँ भनी पहिला हात, त्यसपछि खुट्टा बाँधेर कपडाले आँखा छोपेर घाँटीमा पासो लगाएर हत्या गरेको प्रहरीका प्रवक्ता कुँवरले बताए।
युवक भने हेटौँडामा डेरा गरी बस्दै आएका थिए। उनी असोज १९ गते पर्सा आउँदा आफ्नी प्रेमिका परपुरुषसँगको सम्बन्धमा रहेको थाहा पाएपछि असोज २१ गते राति हत्या गरेको प्रहरीको भनाइ छ। गंगोल नदी किनारमा वीभत्स हत्या गरी शव खोलामा फालेको पाइएको डीएसपी कुँवरले बताए।
हत्यापछि पठान असोज २५ गते पुनः हेटौँडा पुगेका थिए। डेरा छेउका इम्तियाज खानसँग एक हजार रुपैयाँ मागेर भारततर्फ भाग्न लाग्दा पठान पक्राउ परेको डीएसपी कुँवरले बताए।