PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

५० करोडको जग्गा हत्याउने नक्कली छोरा सीआइबीको फन्दामा



राधेश्याम पटेल

५० करोडको जग्गा हत्याउने नक्कली छोरा सीआइबीको फन्दामा

वीरगंज : वीरगंजमा ५० करोड मूल्य बराबरको जग्गा किर्ते गरी गैरकानुनी रुपमा हत्याउने नक्कली छोरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका-१३ कुसुन्तीका वर्ष ३३ का केवलप्रताप जंगबहादुर राणा रहेका छन्।

उनले सम्पतिको लोभमा मालपोत कार्यालय पर्साका केही कर्मचारीको मिलेमतोमा नक्कली छोरा पुष्टि हुने कागजात तथा सिफारिस बनाएर ५० करोड मूल्य भन्दा बढीको जग्गा आफ्नो बनाएका थिए।

जग्गा किर्ते प्रकरणमा राणाले नक्कली छोरा अर्थात ललितपुर महानगरपालिका-३ बस्ने ५० वर्षीय मुकेश राजभण्डारी कायम गरी जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ४७७३ नम्बर भएको किर्ते नागरिकता लिएका थिए। त्यसैको आधारमा उनले नागरिकता किर्ते गरी ठगी गरेको खुल्न आएकोले प्रहरीले राणालाई काठमाडौं-७ रातोपुलस्थित साधना गल्लीमा रहेका डेराबाट गत आइतवार पक्राउ गरी वीरगंज पठाएको छ।

जग्गा किर्ते प्रकरणमा मुख्य योजनाकार पक्राउ परेपछि थप संलग्नहरु बारेमा प्रहरीले अनुसन्धान तीव्र पारेको पर्साका प्रहरी प्रवक्ता डीएसपी मनोजित कुँवरले बताए।

ललितपुरकी कमलादेवी राजभण्डारीको नाममा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ५ मकालु होटल पूर्वको कित्ता नम्बर ३, ७१, १४३ र १८६ को पाँच कठ्ठा १५ धुर ९ कन्वा जग्गा राणाले किर्ते कागाजात खडा गरी नक्कली छोरा बनेर नामसारी गराएको प्रहरीले बताएको छ। राणाले मालपोत कार्यालयका कर्मचारीहरु समेतको मिलेमतोमा किर्ते कागजात बनाई २०७६ चैत १९ गते आफ्नो नाममा पास गराएका थिए।

सोही जग्गा पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर ४ बस्ने गिरधारीलाल अग्रवाललाई बिक्री गर्न ५० लाख रुपैयाँमा राणाले बैना लिएपछि जग्गा किर्तेको घटना सतहमा आएका थियो। त्यसपछि किर्ते गर्नेविरुद्ध वास्तविक छोराहरुले केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंमा उजुरी दिएपछि आवश्यक कारबाही शुरु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell