PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा प्लाज्मा थेरापी शुरु, मोरङका स्वास्थ्य प्रमुखले गरे पहिलो प्लाज्मा दान



फूलमाया पुरी

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा प्लाज्मा थेरापी शुरु, मोरङका स्वास्थ्य प्रमुखले गरे पहिलो प्लाज्मा दान

विराटनगर : विराटनगरस्थित प्रदेश १ सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मंगलवारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ।

कोरोना भाइरसका बिरामीका लागि मंगलवारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो। सेवा शुभारम्भ गर्दै मोरङका स्वास्थ्य प्रमुख तथा कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरेका छन्।

उनले विराटनगर महानगरपालिकाकी ६३ वर्षीया संक्रमित महिलालाई प्लाज्मा दिएका हुन्। उनले करिब एक सातादेखि कोभिड उपचार केन्द्रको आइसीयूमा उपचाररत ती महिलालाई आफूले प्लाज्मा दिन पाउँदा खुसी लागेको बताए।

‘रक्त दान जीवन दान भनेजस्तै कोभिड-१९ संक्रमित भइ जीवन मरणको अवस्थामा प्लाज्मा दिएको हो,’ उनले भने।

कोभिड उपचार केन्द्रको भेण्टिलेटरमा रहेका र आइसीयूमा रहेर उपचार गराइरहँदा पनि थप गम्भिर समस्या भएकाहरुलाई प्लाज्मा दिन सकिने व्यवस्थापन गरिएको बस्नेतको भनाइ छ। गत भदौ २ गते कोरोना संक्रमित भएका बस्नेतले होम आइसोलेसनमै बसेर कोरोना जितेका थिए।

त्यसो त प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको छ। अस्पतालमा आइसीयू, भेण्टिलेटर र आइसोलेसन गरी ८० वटा बेड अहिले सञ्चालनमा रहेको मोरङका स्वास्थ्य प्रमुख तथा कोभिड उपचार केन्द्रका व्यवस्थापक बस्नेतले जानकारी दिए।

उनका अनुसार कोभिड अस्पतालमा लक्षणसहितका संक्रमितको उपचार हुने गरेको छ। जहाँ हाल ६२ जना संक्रमित उपचाररत रहेका छन् भने अस्पतालबाट हालसम्म ४६१ जना डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell