काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद यज्ञबहादुर बोगटी असार ३० गते टेकु पुगे। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पीसीआरका लागि स्वाब दिएर फर्के। ३२ गते टेकुबाट जवाफ आयो - तपाइको रिपोर्टमा कन्फ्युजन भयो, फेरि परीक्षण गर्दैछौं।
भोलिपल्ट काठमाडौं महानगरपालिकाले उनलाई संक्रमित भएको जानकारी गरायो। उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा बसे।
किन आएको थियो संदेहपूर्ण रिपोर्ट?
उनले डाक्टरलाई सोध्दा जवाफ आयो- तपाईँको संक्रमणको अवस्था बोर्डर लाइनमा भएकाले हामीले यकिन भएपछिमात्रै संक्रमणबारे जानकारी दिएका हौं।
'सुरुमा नेगेटिभ भनेर थियो तर तलतिर के लेखिएको थियो डाक्टरले मात्रै भन्न सक्छन् भनेपछि मेरो रिपोर्टबारे त्यस दिन यकिन भएन,' उनले भने।
+++
आफ्नो नातेदारलाई कोभिड-१९ संक्रमण भएपछि आफूलाई संक्रमण भए नभएबारे थाह पाउन सेन्ट्रल डाइगोनेष्टिक ल्याब्रटरी एण्ड रिसर्च सेण्टर पुगेका एक अर्का व्यक्तिले पनि बोगटीलेजस्तै बेहोर्न पर्यो।
असोज २२ गते पीसीआरका लागि दिएको स्वाबको रिपोर्ट भोलिपल्ट बिहान आउनुपर्ने थियो। तर, आएन। फोन गरेर बुझ्दा उनले दिएको स्वाबको नतिजा 'बोर्डर लाइन' थियो। संक्रमण भए नभएको बारे ल्याबले केही जानकारी गराएन। फेरि एकपटक हेर्नुपर्छ भन्ने जवाफ पाए उनले। अन्तत: उनको बोगटीको भन्दा फरक अर्थात् नेगेटिभ रिपोर्ट आयो।
'बिहीवार स्वाव दिएको, भोलिपल्ट बिहान ८ बजे रिपोर्ट आउनुपर्ने थियो। नआएपछि फोन गरेर बुझ्दा बोर्डर लाइन छ फेरि हेर्नुपर्छ भनेपछि दिउँसो २ बजे नेगेटिभ रिपोर्ट आएको थियो,' उनले सुनाए।
+++
के हो बोर्डर लाइन?
बोर्डर लाइन भन्ने रिपोर्टले फरकखाले तनाव झेले यी दुवैले। यस्ता धेरै छन् जसको पुन: परीक्षण गरेरमात्र रिजल्ट यही हो भन्न सकिन्छ। आखिर के हो त? पीसीआर परीक्षणमा बोर्डर लाइन?
पीसीआर परीक्षण गर्दा पोजेटिभ र नेगेटिभको छुट्याउन नसकिने गरी रिजल्ट आए बोर्डर लाइन हुने डाक्टरहरु बताउँछन्।
प्रयोगशालाविद प्राध्यापक डा. अमर नागिलाले पीसीआर गर्दा संक्रमण भए/नभएकोबारे एकिन नभएर कन्फ्युजन हुने रिजल्ट आउँदा बोर्डर लाइन हुने तर्क गरे।
'कसैले ३५ भन्दा तलको साइकललाई पोजेटिभ भन्छ भने त्यस्तो बेलामा ३६ अथवा ३५ नै साइकल भ्यालु आइदियो भने रिजल्टमा कन्फ्युजन हुन्छ। पोजेटिभ र नेगेटिभको सीमानमा आएर अड्किँदा बोर्डर लाइन हुन्छ,' उनले भने।
सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले पोजेटिभ र नेगेटिभ बीचको 'कट अफ भ्यालु'लाई बोर्डर लाइन भनिने बताए। संक्रमण भएर ठीक हुने बेलामा भाइरल लोड कम हुँदै जाँदा अथवा भर्खरैको संक्रमणमा यस्तो हुने सम्भावना रहने उनको भनाई छ।
'अब संक्रमण देखिनसक्ने सम्भावना रहेको अथवा जस्ट क्रस गरेको भन्ने हो। किड्नीकै टेष्टमा पनि एउटा लाइन हुन्छ जुन लाइनभन्दा माथि हुदा खराबी हुन्छ भने त्यो भन्दा कम हुदा नर्मल हुन्छ। यो पनि ठीक त्यस्तै हो,' उनले भने।
चिकित्सकलाई सकस
नागिला ल्याबहरुले बोर्डर लाइन भनेर नतिजा बिरामीलाई सुनाउन जरुरी नभएको बताउँछन्। यस्तो आएमा ल्याबहरुले तत्कालै फेरि एकपटक परीक्षण गरेर नेगेटिभ या पोजेटिभबारे जानकारी दिनुपर्ने उनको तर्क छ। नागिलाले बोर्डर लाइनले चिकित्सकलाई समेत अलमलमा पार्ने बताए। ल्याब अनुसार पनि यसबारे फरकफरक धारणा र प्रक्रिया रहेको उनको भनाई छ।
'ल्याब हेरेर पनि हुन्छ। यस्तो नतिजा आएमा फेरि परीक्षण गरेर पोजेटिभ या नेगेटिभ रिपोर्ट दिनुपर्छ। यसबारेका धारणा पनि ल्याबअनुसार फरकफरक हुन सक्छन्,' उनले भने।
सरुवा रोग विशेषज्ञ पुन र प्रयोगशालाविद नागिला यस्तो नतिजा आउनेहरु सम्भावित संक्रमित हुने धारणा राख्छन्। ल्याबले रिपोर्ट नदिउन्जेलसम्म यस्ता व्यक्ति आइसोलेसनमै बस्नु उत्तम भएको उनीहरुको सुझाव छ।
'राम्रोसँग रिपोर्टको इन्टरप्रिटेसन भएन भने पनि यस्तो हुनसक्छ। त्यसैले ब्यक्ति आफै पनि सचेत भएर आइसोलेसनमा बस्ने र चिकित्सकको सल्लाह लिनु सबैभन्दा राम्रो हो,' उनले भने।
ल्याबहरुले प्रयोग गर्ने रिएजेन्ट, किट लगाएतका कारण पनि यस्ताखाले रिजल्ट आउने र त्यसले डाक्टरलाई नै अलमल पारिरहेको नागिलाको भनाई छ।
यसकारण आउछ बोर्डर लाइन नतिजा
चिकित्सकका अनुसार मुख्यगरी दुई कारणले बोर्डर लाइन रिजल्ट आउछ। नमुना संकलनदेखि रिपोर्ट इन्टरपिटेसनमा गल्ती हुँदा पनि यस्तो नतिजा आउने तर्क छ, नागिलाको। संक्रमितसँग एकदमै थोरै मात्रामा भाइरस संक्रमण भएको बेलामा पनि बोर्डर लाइनमा नतिजा आउने गरेको उनले बताए।
'भाइरससँग रिलेटेड चिजहरु कन्टामिनेसन भएर क्लिएर आएन अथवा अर्को भाइरस नगन्य मात्रामा छ। यिनै कारणले यसखाले नतिजा आउने हो,' उनले भने।
नागिलाले रिजल्टमा अन्यौलता आउनुका अरु थुप्रै कारणहरु पनि भएको बताए। गुणस्तरीय उपकरणको प्रयोग नहुँदा पनि यस्तो नतिजा आइरहेको उनको तर्क छ।
'सबै सिस्टमहरु क्वालिटीको नहुने, आरएनए एक्स्ट्रेक्सन गर्दाखेरि चाहिने मात्रामा भाइरस नआउने र भाइरसको जिन निकाल्दा जति पर्याप्त हुनुपर्ने हो त्यो नहुने हुँदा नतिजा यस्तो आउने हो,' उनले भने।
नमुना संकलन गर्दा थोरै मात्रामा मात्रै भाइरस आएमा पनि बीचको नतिजा आउने उनको भनाई छ।
'सारै थोरै भाइरसले इन्फेक्टेड गरेको छ भने पनि हुनसक्छ। अथवा प्यासेन्टलाई धेरै नै इन्फेक्टेड गरेको भए पनि स्याम्पलमा कमी आयो भने पनि यस्तो हुन्छ,' उनले भने।
पीसीआरमा बोर्डर लाइन प्रयोग गर्नु उचित होइन
चिकित्सकाका अनुसार आरटी पीसीआर भाइरस पत्ता लगाउने हालसम्मको सबैभन्दा भरपर्दो प्रविधि हो। यसले भाइरस भएको वा नभएको भन्नेबारे यकिन गर्छ। डाक्टर नागिला चिकित्सकले बोर्डर लाइन शब्द पीसीआरमा प्रयोग गर्नु उचित नभएको धारणा राख्छन्। नेगेटिभ वा पोजेटिभ रिजल्ट दिनु पीसीआर ल्याबको जिम्मेवारी भएको उनको तर्क छ।
'आरटी-पीसीआरमा बोर्डर लाइन भन्ने एकदमै कम प्रयोग गर्ने शब्द हो। ल्याबले किन युज गर्नुभयो थाहा भएन। आएको स्याम्पलमा पोजेटिभ या नेगेटिभ नै भन्नु उनीहरुको जिम्मेवारी हो,' उनले भने।
बोर्डर लाइनमा रिजल्ट आउने समस्यालाई समाधान गर्न सकिने नागिलाले बताए। उनले यसका लागि दक्ष जनशक्ति र प्राविधि राम्रो हुनुपर्ने बताए।
'टेक्निकल्ली मेनपावर राम्रो भयो रिएजेन्ट राम्रो प्रयोग गर्यो र रिजल्ट इन्टरप्रिटेसन राम्रोसँग भएमा यसको सोलुसन निस्कन्छ,' उनले भने।