विश्वकप क्वालिफायर्स अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई हराएको छ। स्टेडियो हेर्नान्डो सिल्समा भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीमाथि २-१ को जित निकालेको हो।
अर्जेन्टिनाको जितमा लौटरो मार्टिनेज र जोआक्विन कोरेराले गोल गरे।
खेलमा बोलिभियाले अग्रता बनाएको थियो। खेलको २४ औं मिनेटमा मार्सेलो मार्टिन्स मोरेनोले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको ४५ औं मिनेटमा अर्जेन्टिनाका लागि गोल गर्दै मार्टिनेजले खेल बराबरीमा ल्याए। त्यस्तै दोस्रो हाफमा मार्टिनेजकै पासमा कोरेराले गोल गरे। खेलको ७९ मिनेटमा कोरेराले गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक बन्यो।
विश्वकप क्वालिफायर्समा अर्जेन्टिनाको यो लगातार दोस्रो जित हो।
गएराति नै भएको अन्य खेलहरुमा पाराग्वेले भेनेजुएलालाई १-० ले हराउँदा उरुग्वे इक्वेडरसँग पराजित भएको थियो।
