काठमाडौं : बाइक नम्बर बा ९६ प ७१४१। तर, नम्बर प्लेटमा झट्ट हेर्दा बा ९…। तस्बिरमा हेर्नुस् त।
कस्तो कस्तो झुक्काउने किसिमको? तपाईँ पनि झुक्किनु हुन्छ। के यस्तो गरेर बाइक नम्बर लेखिनु संयोगमात्र हो या नियतपूर्वक नै बनाइयो?
संयोग नै भनौं, यो मोटरसाइकल चढ्ने मानिस अपराधसँग जोडिएकाले शंका गर्ने ठाउँ पर्याप्त देखियो। यो बाइक चढ्ने दुई जना सिन्धुपाल्चोकको चौतारा बतासे नगरपालिका २ का २३ वर्षीय रमेश तामाङ र रामेछाप धोबी गाउँपालिकाका २७ वर्षीय प्रेम तामाङ अहिले प्रहरी नियन्त्रणमा छन्। उनीहरुको अपराध बाइक नम्बर झुक्याउनेसँग सम्बन्धित छैन। हत्या गरेको अभियोगमा उनीहरु समातिएका छन् जहाँ यही बाइकको प्रयोग भएको देखियो।
सहजै नम्बर पहिचान नगरुन् भनेर पनि यस्तो गरेको हुनसक्ने महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए।
'झट्ट हेर्दा मानिस झुक्किने नै छ। बीचको नटले मानिसलाई हतारमा झुक्याउँछ,' एसएसपी थापाले भने।
नम्बर प्लेट स्पष्ट नभएको सवारी साधन चलाउनेमाथि अब प्रहरीको नजर बाक्लो हुन थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनलाई कारबाही अभियान तिब्र बनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई कारबाही गरिरहेको छ।
मंगलवार मात्र नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटरगार्ड राखी नम्बर प्लेट ढाकिएका १ सय ६३ वटा सवारी साधनलाई कारवाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले दिए।
ट्राफिक नियम उल्लंघन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता गतिविधि रोक्न नै यस अभियानको थालनी गरिएको महाशाखाका प्रमुख ढकालले बताए।
आइतबारदेखि ३ सय ९९ वटा सवारीलाई कारबाही गरी नम्बर प्लेट समेत स्पष्ट लेख्न लगाएको छ प्रहरीले। यस्ता सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक प्रहरीले ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको छ।
