काठमाडौं : दशैं सुरु हुनु अगावै असन, इन्द्रचोक आसपास बेग्लै चहलपहल हुन्थ्यो। पसलहरूमा खुट्टा राख्ने ठाउँ हुँदैन थियो। सडकको एउटा कुनामा उभिएको मान्छेलाई भिडको ठेलम्ठेलले अर्को कुनामा पुर्याइदिन्थ्यो। चाड पर्व केन्द्रित सामानहरू आयात हुन्थे। तिनै सामानले बजार धपक्क देखिन्थ्यो।
सामान बेच्ने, किन्नेहरू त भइहाले, उस्तै व्यस्त हुन्थे हात वा कम्मरमा नाम्लो बेरेर ग्राहक कुर्ने भरियाहरू। दशैंको समयमा त उनीहरूलाई सामान पुर्याएरै फूर्सद हुँदैन थियो। भरिया नपाउँदा केही मानिस रिक्साभरी सामानको बोरासहित चढ्थे अनि गन्तव्यसम्म पुग्थे।
यो पटक माहोल बेग्लै छ। शहर सुनसान छ। मानिसमा सपिङको क्रेज छैन। व्यापारीहरूको चिन्ता बेग्लै – व्यापार शून्य तर सरकारलाई कर त तिर्नै पर्छ।
महाबौद्धस्थित एक फेन्सी पसलका व्यापारी मनिष अग्रवाल भन्छन्,'सरकारले केही राहत देला भन्ने आश छैन। किनकि अवस्था हेरेर निर्णय गर्नु पर्नेमा कर उठाउनकै लागि लकडाउन खोलेको हामीले बुझेका छौं।'
उनका अनुसार पसलहरूको सामान केरुङ नाकामा अड्किएको कारण पनि व्यापारीलाई मार परेको छ।
आम मानिससँग दशैंको किनमेल गर्न पैसा नभएको र भएकाहरू कोरोना भाइरसको त्रासकै कारण बजारमा नआएको उनको अनुमान छ। 'सरकारले बाँच्न केही राहत दिएको भए पो दशैं आउँछ। खान, लाउन केही नभइ कहाँबाट आउनु पर्व?' अग्रवालले प्रश्न गरे।
महाबौद्धकै अर्का व्यापारी नरेश विष्टले पछिल्ला वर्षहरूको तुलनामा व्यापार चौपट भएको गुनासो पोखे। भने,'व्यापार नै नभएपनि मानिसको चहल पहल बेग्लै हुन्थ्यो। माहोल रमाइलो बन्थ्यो। यस पटक त न व्यापार न उत्साह, उमङ्ग नै।'
लकडाउनको मारमा आफूहरू मारमा परेको बताउँछन् भरिया भोला गौतम। गत वर्ष दशैंको समयमा उनले ६० हजार आम्दानी गरेका थिए। उनले परिवारले पेटभरी मासु खान पाएको थियो। छोराछोरीलाई नयाँ लुगा किनिदिएका थिए।
५० वर्षीय उनलाई थाहा छैन, अब कति वर्ष मात्र उनको शरीरले भारी बोक्न सक्छ। दशकौं भयो उनीसँग सम्पतीको नाममा नाम्लो मात्र भएको। त्यसैको भरमा जीवन चलाइ रहेका थिए। 'यो वर्ष त ५ हजार पनि कमाइ भएको छैन। छोराछोरीलाई मासु खुवाउने समेत क्षमता छैन मसँग', उनले गुनासो गर्दै थपे,'हुने वर्गलाई त दशैं आएको छैन हामी त हुनेको भारी बोकेर खाने हौं।'
रिक्सा चालक पासाङ लामाको पनि अवस्था उस्तै। दिनभर आफ्नै रिक्सामा निदाएर घर फर्कन्छन् उनी। यात्रु त भए पो!
बजारमा चहलपहल नहुँदा उनको कमाइ ठप्प। न पर्यटक न दशैंको किनमेल गर्नेहरू नै। त्यसैले चाड पर्व आएजस्तो लागेको छैन उनलाई। यो वर्ष घर जाने योजना पनि छैन उनको। 'खर्च भए पो जानु? खाली हात जान मन मान्दैन। घरमा आश गरेर बसेका परिवारको अनुहार हेर्न सकिन्न', तामाङले पीडा व्यक्त गरे।