PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर प्रचण्ड र नेपाल असन्तुष्ट, ईश्वर पोखरेलको जिम्मेवारी किन खोसियो ?



कुञ्जरमणि भट्टराई

मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर प्रचण्ड र नेपाल असन्तुष्ट, ईश्वर पोखरेलको जिम्मेवारी किन खोसियो ?

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद साम्य भएको एक महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। बुधवार पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओली निकटले मात्रै स्थान पाएका छन्। जसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले स्थान पाएका छैनन्।

ओलीले सहमति विपरित गएर  मन्त्रिपरिषद् विस्तार गरेपछि प्रचण्ड असन्तुष्ट बनेको बताइएको छ। स्थायी कमिटी बैठक  र सचिवालय बैठकको भावना बमोजिम मन्त्रिपरिषद् पुनर्गठन नभएको भन्दै प्रचण्ड असन्तुष्ट बनेका हुन्।

दुई अध्यक्षबीच बुधवार पनि बालुवाटारमा भेट भएको थियो। तर उक्त भेटमा मन्त्रिपरिषद्का विषयमा कुराकानी नै नभएको खुमलटार स्रोतको दाबी छ।

'अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक र सचिवालय बैठकको भावना अनुसार मन्त्रिमण्डल पुनर्गठन गरौं भन्ने प्रस्ताव राख्ननु भएको थियो। अपवाद बाहेकका सबै मन्त्रीलाई फिर्ता गरौं भन्ने प्रस्ताव थियो। तर, अध्यक्षको असहमतिमा नै मन्त्रिमण्डल हेरफेर भएको छ। यो बालुवाटारको एकलौटी निर्णय हो' खुमलटार स्रोतको दाबी छ।

तर, बालुवाटार निकट एक नेताले भने दुई अध्यक्षको छलफलमा नै मन्त्रिपरिषद् पुनर्गठन भएको दाबी गरे।

'अध्यक्षहरुले घण्टौं छलफल गर्नुभएको हैन र ?' उनले प्रतिप्रश्न गरे।

यता माधवकुमार नेपाल पनि आज गरिएको मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर असन्तुष्ट बनेको स्रोतको दाबी छ। पार्टीमा एक व्यक्ति एक जिम्मेवारीको लबिङ गरिरहेका नेपालले सहमति विपरित मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन्।

‘मन्त्री भएका व्यक्तिका विषयमा टिप्पणी छैन। तर जानकारी नदिइ मन्त्रिमण्डल पुनर्गठन गरियो। प्रधानमन्त्री ओलीले एकलाैटी ढंगले काम गरे' नेपाल निकट नेताले भने।

पार्टी फुटको संघारमा पुगेका बेला गठन गरिएको कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव गरेको थियो। जसमा दुवै अध्यक्षबीच छलफल भइरहेको थियो। असोज ४ गते बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विकल्पबारे समेत छलफल भएको थियो।

त्यसपछि दुई अध्यक्षबीच पटक-पटक छलफल भएपनि मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुट्न सकेको थिएन्। बुधवार विस्तारित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले पार्टीका महासचिव तथा तत्कालिन कार्यदलका संयोजक विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी सुम्पिएका छन्।तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा पौडेलललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको हो।

त्यही कार्यदलमा सदस्य रहेका नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले अर्थ मन्त्रालय पाए मात्र मन्त्रिपरिषदमा सहभागी हुने अडान राखेका थिए। त्यस्तै जनार्दन शर्मा पनि मन्त्री बन्ने चर्चा थियो। तर, पुनर्गठित मन्त्रिमण्डलमा दुवै नेता नै अटाएनन्।

रक्षामन्त्रालयबाट किन हटाइए ईश्वर पोखरेल ? 

उता,रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालय तानिएको छ। ईश्वर पोखरेललाई उनकै इच्छा अनुसार विभागीय जिम्मेवारीबाट हटाएर प्रधामन्त्री कार्यालमा तानिएको प्रधानमन्त्री निकट स्रोतको दाबी छ।

‘प्रधानमन्त्री कार्यालय अन्तर्गत त्यति धेरै सचिवहरु हुन्छन्। उहाँकै सहमतिमा प्रधानमन्त्री कार्यालय तानिएको हो। उनको घटुवा होइन्, यति बुझौं' प्रधानमन्त्री निकट स्रोतले भन्यो।

आज गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा सञ्चार मन्त्रीको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ। यसअघि गुरुङले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए। महिला बालबालिका मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई नियुक्त गरिएको छ। यसअघि अर्थमन्त्रालय पूर्व माओवादीले पाउनुपर्ने अडान प्रचण्डको थियो। शर्मा सञ्चारमन्त्री बन्ने चर्चा चलेको थियो।

सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ। तत्कालिन समाजवादी सरकारबाट बाहिरिएपछि रिक्त मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङले सम्हाल्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell