PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्डको गतिविधिप्रति नेपाल पक्षका नेताहरु सशंकित



पहिलोपोस्ट

प्रचण्डको गतिविधिप्रति नेपाल पक्षका नेताहरु सशंकित
फाइल फोटो

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पछिल्ला गतिविधिप्रति वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले आशंका गर्न थालेका छन्।

बुधबार भएको मन्त्रीमण्डल पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डको साथ रहेको आशंका नेपाल पक्षको छ। तर, मन्त्रिमण्डल पुनर्गठन स्थायी कमिटी र सचिवालय बैठकको म्याण्डेड अनुसार नभएको भन्दै प्रचण्ड असन्तुष्ट रहेको खुमलटार स्रोत बताउँछ।

नेपाल निकट स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार पुनर्गठनका विषयमा नेता नेपाललाई जानकारी दिइएको छैन। नेता नेपाल छलफल नै नगरी पुनर्गठन गरिएको भन्दै असन्तुष्ट भएका छन्। बुधबार थपिएका मन्त्रीहरु सबै ओली पक्षका मात्र छन्।

प्रचण्डका पछिल्ला गतिविधिले आशंका जन्माएको तर केही समय उनका गतिविधिको निगरानी गरेर मात्रै अघि बढ्नुपर्ने स्थिति देखिएको नेपाल निकट एक स्थायी कमिटी सदस्यले बताउँछन्। पार्टीको पछिल्लो विवादमा प्रचण्ड-नेपाल गठन्धनले ओलीलाई एक्ल्याएको थियो।

‘अध्यक्ष प्रचण्ड पछिल्लो पटक स्पष्ट देखिनुहुन्न। आज पनि बालुवाटारमा घण्‍टौँ छलफल भएको सुनिएको छ। दुई अध्यक्षबीचको सहमति भएको हो ‍कि होइन भन्ने ठ्याक्कै ठम्याउन सकिने स्थिति छैन,' ती नेताले आशंका गरे।

उनले कर्णाली प्रदेशमा देखिएको विवाद त्यहि कमिटीबाट सहमति भइसकेपछि पुन: छलफलका लागि काठमाडौँ बोलाउनुले शंका पैदा भएको सुनाए।

‘मुख्यमन्त्रीको विषयमा प्रदेशमा नै नेताहरुले सहमति भइसकेको थियो। तर, फेरि दुई अध्यक्षले छलफलका लागि काठमाडौँ भएको छ। यसले अर्को आशंका पैदा भएको छ, ती नेताले भने।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव अघि सारेका थिए। ओली निकट प्रदेशसभा सदस्य तथा नेकपा कर्णाली सह-इञ्चार्ज यामलाल कँडेलको नेतृत्वमा दर्ता भएको अविश्वासको प्रस्तावमा नेपाल पक्षका सात जना सांसदले साथ दिएका थिए।

तर, सचेतक र तीन मन्त्री पाउने भएपछि नेपाल पक्षका सांसद अविश्वासको प्रस्तावबाट ब्याक भएका थिए।

तर, ओली-प्रचण्डले मुख्यमन्त्री शाही, कँडेलसहितका प्रदेश कमिटीका नेताहरुलाई बिहीबार छलफलका लागि काठमाडौँ बोलाएका छन्। जसले गर्दा प्रदेशमा भएको सहमति बिथोलिने नेताहरुको बुझाइ छ।

पूर्वमाओवादी निकट एक स्थायी कमिटी सदस्य पनि अहिले प्रचण्ड अप्ठ्यारो स्थितिमा रहेको बताउँछन्।

‘प्रचण्ड अफ्ठ्यारो स्थितिमा हुनुहुन्छ। प्रधानमन्त्रीसँगै मिलेर जाने पक्षमा हुनुहुन्छ। त्यसैले धेरै अडान लिन सक्ने स्थितिमा हुनुहुन्न, उनले दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell