PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कबाडी बाइकलाई महँगोमा सकार्न खोज्दा भेटियो २५ केजी चाँदी!



खेमराज श्रेष्ठ

कबाडी बाइकलाई महँगोमा सकार्न खोज्दा भेटियो २५ केजी चाँदी!

काठमाडौं : चार वर्षअघि सशस्त्र प्रहरीको टोली जनकपुर उपमहानगरपालिका लोहना क्षेत्रमा गस्तीमा निस्कियो। गस्ती टोलीलाई देखेर भारततर्फ जाँदै गरेको मोटरसाइकल र ९२ प्याकेट चाँदी ५ (किलो) वेवारिसे अवस्थामा छाडी ती व्यक्ति फरार भए।

टोलीले सो मोटरसाइकल र चाँदीलाई राजस्व अनुसन्धानको कार्यालय अतरियालाई बुझायो। अनुसन्धान कार्यालय अत्तरियाले केही महिनापछि सो मोटरसाइकल हकदाबीका लागि सूचना जारी गर्‍यो। तर, मोटरसाइलकमा कुनै पनि व्यक्तिले हकदाबी प्रस्तुत गरेनन्। त्यो मोटरसाइकल चार वर्षसम्म राजस्व अनुसन्धानको कार्यालयमै थन्कियो।

मोटरसाइकल खिया लागेर लगभग काम नलाग्ने वा चढेर हिँड्न नमिल्ने भइसकेको थियो। राजस्व कार्यालय अत्तरियाले चार वर्षपछि सो मोटरलाइकल लिलामीमा बिक्री गर्ने निर्णय गर्‍यो। मोटरसाइकलको लिलामीका लागि कार्यालयले एक महिनाको मिति राखेर सुचना जारी भयो।लिलामी गरिएको मोटरसाइकल विशेषगरी वर्कशप या कवाडी फलाममा जाने गर्दथ्यो। सो मोटरसाइकलका लागि चार जनाले बोलपत्रमा भाग लिए।

बोलपत्र हालेकामध्ये तीन जनाले सो मोटरसाइकललाई १५ हजार भन्दा कम मूल्य कबोल गरेका थिए भने १ एक जनाले सो मोटरसाइकललाई ७५ हजार रुपैयाँ कबोल गरेर बोलपत्र हालेका थिए। महँगो कबोल गर्ने थिए निर्मल कुमार सिंघानिया। सिंघानिया धनुषाको शिव ज्वेलर्स सुन चाँदी पसलका सञ्चालक हुन्। कार्यालयले बोलपत्रमा भाग लिने मध्येलाई सबैभन्दा बढी मूल्य तोक्नेलाई मोटरसाइकल दिनुपर्ने अवस्था आयो।

अत्तरिया कार्यालयले केन्द्रीय कार्यालय हरिहर भवनमा यो सबै जानकारी गरायो। यो फाइलका अध्ययन गरेका राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले तत्कालका लागि बोलपत्र नखोल्न निर्देशन दिए। एउटा थोत्रो अर्थात् कवाडीको भाउमा जाने मोटरसाइकललाई ती व्यक्तिले किन यति मूल्यमा लिन बोलकबोल गरे? मैनालीलाई लाग्यो-'महँगो मूल्य तिर्नु पछाडिको कारण पक्कै छ।'

यससँगै महानिर्देशक मैनालीले सो मोटरसाइकल परीक्षणका लागि काठमाडौं ल्याउन निर्देशन दिए। मोटरसाइकल विभागमा परीक्षण सुरु भयो।

परीक्षण गर्दा मोटरसाइकलको ट्याङकीमा २५ किलो चाँदी भेटियो। तेल ट्याङ्कीको भित्र बनाइएको लक खोलेर हेर्दा सेतो प्लाष्टिकमा लुकाई राखेको प्रति प्याकेट २ किलो ५०० ग्रामका १० वटा पोका भेटियो। यससँगै चार वर्षअघि भेटिएको पाँच किलो चाँदीको कनेक्सन जोडियो।  त्यसपछि बढी मूल्यमा मोटरसाइकल सकार्न् खोज्ने सिंघानियातर्फ अनुसन्धान सोझियो।

त्यसपछि विभागले सिंघानिया पक्रन टोली खटायो। उनको मोबाइल हिस्ट्री चेक गर्दा मोटरसाइकलमा चाँदी रहेकै आधारमा महँगो मूल्यमा बोलपत्रमा सहभागी भएको खुल्यो। चाँदी तस्करीमा प्रक्राउ परेका सिंघानियाबाट थप दुई जना सहभागी रहेको पत्ता लाग्यो।

यो तस्करीमा जयनगर भेलुवाटोला जिल्ला मधुवनी ठेगाना भएका भारतीय नागरिक विकाश कुमार साह र नवल साह पनि थिए। नवल शाह शिव ज्वेलर्सकै सञ्चालक समेत हुन्। अनुसन्धानको क्रममा तस्करीका लागि नक्कली नागरिकता बनाएर मोटरसाइकल दर्ता भएको खुलेको छ। विभागले सबै अनुसन्धानपछि सिंघानियासहित दुई जना विरुद्ध ३५ करोड ५५ लाख विगो दाबीसहित बुधवार उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा मुद्दा दायर गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell