काठमाडौं : जिल्ला प्रहरी कार्यालय झापाले हत्याको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ। कनकाई नगरपालिका वडा नम्बर ७ काब्रोटे टोलमा बस्ने २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई बुधवार नियन्त्रणमा लिएको हो।
युवकले मंगलवार राति साढे ९ बजेको समयमा कनकाई नगरपालिका वडा नम्बर ३ एकान्त टोलमा रहेको सुरुङ्गा खोलाको बाँध र बासघारी झ्याङ बीचमा भएको भित्री सानो गोरेटो बाटोमा २२ वर्षीय अभिषेक चौधरीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। हत्या गरेको भोलिपल्ट मात्र स्थानीयले अभिषेक चौधरी उत्तानो परी अनुहार टाउको भरी रगताम्मै चोटै चोट भइ मृत अवस्थमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवक रविनले गाँजाको विषयमा झगडा भएपछि हत्या गरेको खुलेको छ। हत्या भएको दिइन अभिषेकले १ सय रुपैयाँ दिएर रविनलाई गाँजा किन्न पठाएका थिए। रविनले गाँजा किनेर ल्याएपछि अभिषेशकले खान नदिएपछि विवाद भएको थियो। त्यही क्रमम अभिषेकले झापड समेत हानेको प्रहरीले जानकरी दिएको छ। रविनले त्यसपछि आफुलाई अपमान गरेको महशुस गरी आफ्नो घरमा गई बन्चरो ल्याएर बाटो ढुकेर गरी हत्या गरेको खुलेको छ।
हत्यापछि उनी डरले भागेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
