विराटनगर : प्रदेश नम्बर १ को सरकारले प्रदेशका ११ वटा पालिकालाई एक–एक वटा वारुण यन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेको छ।
बिहीवार आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राईले पालिकाका प्रमुखलाई वारुण यन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरे।
वारुणयन्त्र र प्रहरी भ्यान पाउनेमा सुनसरीको कोशी, मोरङको कानेपोखरी र झापाको कमला गाउँपालिका छन्
त्यस्तै इलामको देउमाई र पाँचथरको फिदिम नपा, तेह्रथुमको आठराई गापा, धनकुटाको धनकुटा नपा, भोजपुरको हतुवागडी गापा, खोटाङको खोटेहाङ गापा, ओखलढुंगाको सिद्धिचरण नपा र उदयपुरको रौतामाई गापालाई पनि वारुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरिएको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार ११ वारुणयन्त्रको कुल मूल्य ५ करोड ६७ लाख २० हजार र वारुण यन्त्रको ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ रहेको छ।
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रका लागि एक थान वारुण यन्त्र र एक थान प्रहरी भ्यान हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।
उपरोक्त ११ वटै गाविसलाई एक–एक थान एम्बुलेन्स पनि उपलब्ध गराइने बताइएको छ। एम्बुलेन्स खरिद प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार पालिकाका प्रमुखका अध्यक्षतामा सन्चालक समिति हुने छ। इन्धन र मेन्टेनेन्स पालिकाले ब्यहोर्ने र जनशक्ति आन्तरिक मामिला मन्त्रालयले प्रदेश प्रहरी लाई खटाउने समझदारी गरिएको छ। वारुणयन्त्र र भ्यानको सञ्चालन सञ्चालन स्थानीय पालिकाले प्रहरी मार्फत् गर्नेछ।
