काठमाडौ : कर्णाली प्रदेशको विवादबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै छलफल गरेका छन्।
प्रचण्डले निवास खुमलटारमा बिहीवार बिहान कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पक्षका नेताहरुसँग छलफल गरेका थिए। उनले शाही पक्षका नेताहरुबाट समस्याबारे बिफ्रिङ लिएका छन्।
प्रचण्डले अहिले मुख्यमन्त्री शाहीका विरुद्ध अविश्वासको प्रस्तावको नेतृत्व गरेका नेकपा कर्णाली प्रदेश सह इन्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेललपक्षलाई अहिले खुमलटार बोलाएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध गत आइतवार नेकपाकै १८ सांसदहरुले अविश्वासको प्रस्ताव संसदीय दलमा बुझाएका थिए। यस विषयले नेकपामा किचलोको थप विजारोपण गरेका छ।
मंगलवारको आन्तरिक छलफलमा मुख्यमन्त्री शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सचेतकसहित तीन मन्त्री दिने विषयमा सहमति बनेको थियो। यससँगै नेपाल पक्षका सांसदहरु भने ब्याक भएका छन्।
तर, मंगलवार नै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री शाही, कँडेलसहित प्रदेश कमिटीका नेताहरुसँग बिहीवार छलफलका लागि काठमाडौं बोलाइएका थिए।
आज दुई अध्यक्षले दुई पक्षलाई नै राखेर पार्टी कार्यालय धुम्बाराहीमा छलफल गर्ने तय भएको थियो।
तर,प्रचण्डले दुई पक्षसँग छुट्टाछुट्टै छलफल गरे पछिमात्र संयुक्त रुपमा छलफलको तयारी रहेको खुमलटार स्रोतले बतायो। आजका लागि तय भएको छलफल स्थगित भएको छ।
'अध्यक्षले बिहान मुख्यमन्त्री शाही सहितका नेतासँग छलफल गर्नुभएको थियो। अहिले नेता कँडेल पक्षका नेताहरुलाई बोलाउनु भएको छ। दुई अध्यक्षसहित छलफल आजका लागि नहुने भयो। छुट्छुट्टै कुराकानीपछि मात्र छलफल हुने कुरा छ,' प्रचण्ड निकट स्रोतले भन्यो।
