PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

श्रीपुर विद्यापिठ उच्च माविमा अभिभावकले लगाए ताला, आर्थिक अनियमितता भएको आरोप



राधेश्याम पटेल

श्रीपुर विद्यापिठ उच्च माविमा अभिभावकले लगाए ताला, आर्थिक अनियमितता भएको आरोप

वीरगंज : वीरगंज महानगरपालिका-११ श्रीपुरमा रहेको श्रीपुर विद्यापिठ उच्च माध्यमिक विद्यालयमा अभिभावकहरुले तालाबन्दी गरेका छन्। विद्यालयमा आर्थिक अनियमतिता व्यापक भएको भन्दै अभिभावकको एउटा समूहले बिहीवार विद्यालयको कार्यालय र स्टोरमा तालाबन्दी गरेको हो।

४ वर्षदेखि सामाजिक लेखा परीक्षण, आर्थिक लेखा परीक्षणलगायत काम नहुँदा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्साले सो विद्यालयलाई कालो सूचिमा राखेको छ। प्रदेश सरकारले विद्यालयको स्तरोन्नतीका लागी पठाएको १५ लाख रुपैयाँको समान नै नकिनी नक्कली बिलभरपाई बनाएर रकम हिनामिना गरेको अभिभावकको आरोप छ।

त्यसैगरी, शिक्षकहरु पढाउनुभन्दा राजनीतितर्फ बढी सक्रिय रहेकोले यी सबै कुरा सुधारको लागि अभिभावकहरुले माग गरेका छन्। विद्यालय व्यवस्थापन समिति तथा महानगरले आफू खुसी प्रधानाध्यापकहरुको सरुवा गर्दा विद्यालय राजनीतिको अखडा बनेकोले विद्यार्थीहरुको भाविष्य र विद्यालयको वातावरण खराब बन्दै गएको अभिभावक महेश्वरलाल महतो गुनासो गर।

विद्यालयको शैक्षिक सुधार तथा अनुदानबाट आएको रकमहरुको दुरुपयोग भइरहेको गुनासो सहित पटकपटक ध्यानकार्षण गराउँदा पनि सुनवाई नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको अभिभावकहरुको भनाइ छ। विद्यालयको भौतिक संरचना पनि जीर्ण बनेको अभिभावकहरुको गुनासो छ। कोरोनाका कारण विद्यालय बन्द रहँदा मर्मतको नाममा लाखौँ रकम हिनामिना भएको अभिभावकहरुको आरोप रहेको छ।

अभिभावकहरु चन्देश्वर तिवारी, दिना महतो ,सदाव अंसारी, विद्यार्थी नेता सुजित गिरीको नेतृत्वमा आएको टोलीले विद्यालयमा तालाबन्दी गरेको हो। यस विषयमा विद्यालयका हालका प्रधानाध्यापक अनिल वर्णवालले अभिभावकहरुले तालाबन्दी गरी सांकेतिक विरोध जनाएको प्रति आफ्नो ध्यानाकर्षण भएको र समस्या समाधान गरी चाडै विद्यालयको चौतर्फी वातावरण सुधारको लागि आफूले समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell