PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

ताप्लेजुङका दुर्गम गाउँमा पुगे वित्तीय संस्था, साहूबाट चर्को ब्याजदरमा ऋण लिने चलन हट्दै



रासस

ताप्लेजुङका दुर्गम गाउँमा पुगे वित्तीय संस्था, साहूबाट चर्को ब्याजदरमा ऋण लिने चलन हट्दै

  • दिलकुमार लिम्बू-

फुङलिङ : कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनामार्फत ताप्लेजुङको दुर्गम गाउँमा वित्तीय संस्था पुग्न थालेकाले साहूबाट चर्को ब्याजदरमा ऋण लिने चलन अहिले हट्दै गएको छ।

विसं २०६१ मंसिर महिनामा विवाहका लागि ३६ प्रतिशत ब्याजदरमा साहूबाट ६० हजार रुपैयाँ ऋण लिएका बिर्खबहदुर लिम्बूले ऋण तिर्न नसक्दा विदेशीनु पर्‍यो। त्यस्तै, तिरैतो खेती गर्न साहूबाट त्यति नै ब्याजदरमा चार लाख रुपैयाँ ऋण लिएका केरसिंङ लिम्बूलाई ऋण चुक्ता गर्न तीन वर्ष लाग्यो।

केही वर्ष अघिसम्म घर खर्च चलाउन साहूकहाँ रक्सी, मासुलगायत कासेली बोकेर चर्को ब्याजदरमा ऋण माग्न जानुपर्थ्यो। बैंक तथा वित्तीय संस्थामा पहुँच पुग्ने ती साहू-महाजनले त्यहीबाट सस्तो ब्याजदरमा ऋण लिएर गाउँमा चर्को ब्याजदरमा ऋण दिलाउने गरेकोे फक्ताङलुङ गाउँपालिका-६ का श्याम लिम्बूले बताए। साहूले ऋण दिएपछि तिनको गुलामी बन्नु पर्ने र उनीहरूलाई चित नबुझे प्रहरी प्रसाशन लगाएर दुःखसमेत दिने प्रचलन अहिले हट्दै गएको उनको भनाइ छ।

ती दुवै संस्थाले फक्ताङलुङ र सिरिजंघा गाउँपालिकालाई  कार्यक्षेत्र बनाएर विगत छ वर्षदेखि हिमाली गाउँ बस्तीहरूमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न चार सहकारीमार्फत सुलभ ब्याजदरमा कर्जा प्रवाह गरी आय आर्जनका काममा लगाएर बचतसमेत गर्ने बानीको विकास गर्दै आएको उक्त परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताइन्।

यसरी सञ्चलित सहकारीमध्ये फक्ताङलुङ गाउँपालिका ५ तापेथोकस्थित तागेरा बचत तथा ऋण सहकारी संस्थामा २४३ महिला र २१५ पुरुष गरी ४५८ सदस्य, सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित संरक्षण बचत तथा ऋण सहकारीमा २०६ महिला र २३२ पुरूषसहित ४३८ सदस्य र वडा नम्बर ७ स्थित बालुङ बचत तथा ऋण सहकारीमा ५१ महिला र ५३ पुरूष गरी जम्मा १०४ सदस्य रहेका छन् भने सिरिजङघा गाउँपालिकाको वडा नम्बर ७ स्थित यालुखाङ बहुउदेश्यीय सहकारीमा ८० महिला र ८० पुरूष गरी १६० सदस्य रहेका छन्।

ती सहकारीले ऋण प्रवाह गर्नुका साथै बचत गर्ने बानीको विकास र व्यापार व्यवसाय सञ्चालनका लागि उत्प्रेरित गर्दै आइरहेका छन्।

वित्तीय पहुँचबाट टाढा रहेका दुर्गम तथा हिमाली क्षेत्रमा बसोबास गर्ने ती समुदायको जिविकोपार्जन, दिगो विकास र अन्य आर्थिक क्रियाकलापमा टेवा पुर्‍याउनका लागि सहकारीमार्फत कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक चङसुले बताइन्। अहिले सहकारीबाट ऋण लिएर युवाहरूले कुखुरा फर्म, कृषी फर्म तथा काठ काट्ने उपकरण  खरिदलगायतका व्यापार व्यवसाय गर्दै आएको स्थानीय कुशल लिम्बूले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell