PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

कोरोना संक्रमणका कारण प्रदेश २ मा तीन जनाको मृत्यु, थपिए १०४ जना नयाँ संक्रमित



राधेश्याम पटेल

कोरोना संक्रमणका कारण प्रदेश २ मा तीन जनाको मृत्यु, थपिए १०४ जना नयाँ संक्रमित

वीरगंज : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगंज-२ छपकैयाका ४५ वर्षीय पुरुष, महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ घर भई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत ५५ वर्षीय पुरुष र सप्तरीको कञ्चनपुर नगरपालिका वडा नम्बर २ बरमझिया घर भई विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारत ४६ वर्षीया महिला रहेका छन्।

प्रदेश २ सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म १५७ जनाको ज्यान गइसकेको छ। जसमा धनुषाका १८, महोत्तरीका १६, सिरहाका १५, सप्तरीका २२, सर्लाहीका १२, रौतहटका ८, बाराका १८ र पर्साका ४७ जना रहेका छन्।

मन्त्रालयका प्रवक्ता डा कमलेशप्रसाद यादवका अनुसार पछिल्लो २४ घण्टामा १५ जना महिला र ८९ जना पुरुष गरी कुल १०४ जना नयाँ संक्रमित थपिएका छन्। बिहीवार अपरान्ह ४ बजेसम्मको अपडेट अनुसार धनुषामा १६, महोत्तरीमा १, सिरहामा २५, बारामा १४, पर्सामा २४, सर्लाहीमा ३, रौतहटमा ९ र सप्तरीमा १२ गरी कुल १०४ जना थपिएका हुन्।

प्रदेश २ मा हालसम्म कुल संक्रमितको संख्या २ हजार ३ सय १८ महिला र १२ हजार २ सय ७ पुरुष गरी १४ हजार ५ सय २५ पुगेको छ।

यसैबीच, प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९१ जना निको भएर घर फर्केका छन्। प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १२ हजार ५ सय ८६ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell