काठमाडौं : नक्कली फेसबुक पेज बनाई अश्लील र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्बिरको स्वरुप बिगारेर असान्दर्भिक विषयवस्तु पोस्ट गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ। प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका आधारमा अनुसन्धान गरी अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको ब्युरोले बिहीवार विज्ञप्ति जारी गरी जानकारी दिएको छ।
उनले ख्यातिप्राप्त महिला कलाकारको फोटोको स्वरुप बिगारेर फेसबुक पेजमा राख्ने गरेको भनी उजुरी परेको थियो। हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले अश्लील गतिविधि सञ्चालन गरेको पाइएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
उनीविरुद्ध अछामको ढकारी गाउँपालिकाले नामको अनधिकृत पेज बनाई गाउँपालिकाको बदनाम गरेकाले खोजी गरी कानुनअनुसार कारबाहीका लागि ब्युरोमा पत्राचारसमेत गरेको थियो। सोही निवेदनका आधारमा उनीमाथि ब्युरोले अनुसन्धान थालेको थियो। उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेकाले हदैसम्मको सजाय माग दावी लिई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको ब्युरोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
यसैबीच, ब्युरोले बाल अश्लिलता फैलाउने काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने प्रवीण ढकालविरुद्ध समेत मुद्दा चलाइएको जनाएको छ। सामाजिक सञ्जाल र फेसबुक म्यासेन्जरबाट अश्लिल श्रव्यदृश्य पठाइ हैरानी पारेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनले विद्युतीय कारोबार ऐन अन्तरगतको कसुर गरेकाले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको अर्यालले बताए।