PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मोरङमा ज्येष्ठ नागरिक ग्राम निर्माण गर्न सामाजिक विकास मन्त्रालयले ३ करोड पचास लाख दिने



फूलमाया पुरी

मोरङमा ज्येष्ठ नागरिक ग्राम निर्माण गर्न सामाजिक विकास मन्त्रालयले ३ करोड पचास लाख दिने

विराटनगर : प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल गरेको छ। ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो।

सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ। ज्येष्ठ नागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नुपर्ने छ। १० बिघा १४ कठ्ठामा निर्माण गरिने ज्येष्ठ नागरिक ग्रामको डीपीआर लगायतका काम सम्पन्न भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

भवन निर्माणको शिलान्यास चाँडै गर्नेगरि मन्त्रालयले काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। उनले परियोजना शुरु भएपछिको वातावरण सहज बनाउन आग्रह गरे।

‘परियोजना निर्माण शुरु भएपछि अवरोध भए निर्माणले गतिलिन सक्दैन’, मन्त्री घिमिरेले भने, ‘ज्येष्ठ नागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने छ।’

छलफल कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्री विजय विश्वास, गाउँपालिका अध्यक्ष शिवनारायण माझी लगायतले परियोजना कार्यन्वयनमा जोड दिए।

अध्यक्ष शिवनारायण माझीका अनुसार मानव सेवा आश्रम चिल्ड्रेन पार्क र ज्येष्ठ नागरिक भवन गरी तीन वटा क्षेत्र समेटिने छन्। ग्रामथान गाउँपालिका वडा नम्बर ७ स्थित बहुवर्षीय योजनाका साथ निर्माण गर्न लागिएको उक्त परियोजना बालबालिका ज्येष्ठ नागरिक र अवव्यवस्थित सडक बालबालिका तथा मानिसहरुका लागि हो।

‘यो बहुवर्षीय योजना हो, परियोजना कहिले सकिन्छ भन्ने समयावधि किटान भएको छैन’, उनले भने, ‘यसमा सामाजिक विकास मन्त्रालयले ३ करोड पचास लाख रकम दिएको छ।’

सडकबाट उद्दार गरिएकाहरु राख्नका लागि बनाइने मानव सेवा केन्द्र बनाउनका लागि सामाजिक विकास मन्त्रालयले ६० प्रतिशत खर्च रकम उपलब्ध गराउने छ भने मानव सेवा आश्रमले ४० प्रतिशत लगानी गर्ने पनि उनले जानकारी दिए। त्यस्तै, चिल्ड्रेन पार्क र ज्येष्ठ नागरिक भवनका लागि पनि सामाजिक विकास मन्त्रालयको ६० प्रतिशत र गाउँपालिका र ज्येष्ठ नागरिक संगठनले ४० प्रतिशत रकम बेहोर्ने सामाजिक विकास मन्त्रालयबाट छलफल भएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell