PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

झापामा थपियो सशस्त्र प्रहरीको बीओपी



रासस

झापामा थपियो सशस्त्र प्रहरीको बीओपी

झापा : भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ।

मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ११ औँ बीओपीको बुधवार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नं १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बीओपी स्थापनाको लक्ष्य रहेको बताए।

उनले झापामा अरु सातवटा बीओपी छिट्टै स्थापना गरिने जानकारी दिँदै मानव बेचबिखन, लागू औषधको कारोबार, तस्करीलगायत अपराध रोक्न सीमाका बीओपीमा तैनाथ सुरक्षाकर्मीलाई निर्देशन दिए। झापामा १४४.२ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा क्षेत्र रहेको छ। सरकारले छोटी भन्सार तोकेका स्थानमा अनिवार्य रूपमा बीओपी स्थापना भइरहेका छन्। बीओपीका लागि स्थानीय तहले दाताबाट प्राप्त वा खाली रहेको सरकारी जग्गा उपलब्ध गराउँदै आएका छन्।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सशस्त्र प्रहरीको बीओपीलाई स्थानीय सरकारको तर्फबाट आवश्यकता हेरी सहयोग गरिने बताइन्। भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको मेचीनगरमा काँकडभिट्टा, बाहुनडाँगी र ज्यामिरगढी गरी तीनवटा बीओपी स्थापना भइसकेका छन् भने अझै एउटा नकलबन्दा छोटी भन्सार क्षेत्रमा स्थापनाको तयारी भइरहेको छ। सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमाको अभिलेख दुरुस्त राख्ने र सीमापार अपराध नियन्त्रण गर्ने बीओपीको लक्ष्य भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell