PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरौं, निजीमा आफै चाप घट्छः मेयर शाक्य



पहिलोपोस्ट

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरौं, निजीमा आफै चाप घट्छः मेयर शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वत कमजोर भएर जाने बताएका छन्।

आज शिवपुरी माध्यमिक बिद्यालयको ७२ औं बार्षिकोत्सव समारोहमा बोल्दै मेयर शाक्यले सामुदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए। ‘निजी क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अविभावकलाई आकर्षित गरिरहेको छन्। अब त्यसैगरी विस्तारै सामुदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ शाक्यले भने, ‘संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन। त्योभन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर तपाईँहरु (विद्यार्थी)को भविश्य हामी बनाई दिन्छौँ भन्ने ग्यारेण्टी सामुदायिक विद्यालयले दिन सक्नुपर्छ। त्यो भयो भने सामुदायिकमा स्वत विद्यार्थीको चाप बढ्ने छ।’

प्रमुख शाक्यले सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि संस्थागत विद्यालयलाई निषेध होइन, मेरो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविश्यको जिम्मा म लिन सक्छु भन्ने ध्येयका साथ पठन–पाठनमा ध्यान दिई विद्यार्थीका साथै अविभावकलाई पनि विश्वस्त बनाउनु पर्नेमा जोड दिए। ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने बाध्यता स्वतः अन्त्य हुन्छ,’ उनले भने, ‘हामी बजारमा केही बस्तु किन्न जाँदा कसैले गुणस्तरीय बस्तु सस्तोमा दियो भने महंगोमा किन्न जाँदैनौँ, शिक्षा पनि त्यहि हो।’

उनले विद्यालय शिक्षा स्थानीय तहको जिम्मेवारीमा आएपछि विद्यालय सुधारका केही प्रयासहरु गरेको पनि जानकारी दिए। उनले भित्रि सुधारको पाटो शिक्षक–शिक्षिकाकै भएको भन्दै शिक्षा समिति, विभाग र नगरसभाले निर्णय गरेर काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको जिम्मा महानगरपालिकाले लिएको पनि जानकारी दिए। उनले सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकालाई शैक्षिक गुणस्तरमा संवेदनशील पनि आग्रह गरे। उनले गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने नीति महानगरले बनाउने भन्दै स्रोतको समस्या नभएको प्रष्ट पारे।

मेयर शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरे। दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो।

उनले महानगरपालिका सूचना प्रबिधिमा आधारित शैक्षिक कार्यक्रममा केन्द्रीत रहेको पनि बताए। समारोहमा बोल्दै विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भने, ‘हामी विद्यालयको सूचना प्रबिधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रुपमा विकास गर्न चाहन्छौं।’

समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, सेवा निवृत्त शिक्षक शिक्षिकालाई सम्मान प्रदान गरिएको थियो। त्यस्तै विद्यालयमा २५ बर्ष सेवा अवधि पूरा गर्ने शिक्षक शिक्षिकालाई शिवपुरी शिक्षा सेवा पदक उत्कृष्ठ शिक्षा सम्मान प्रदान गरिएको थियो।

विद्यालयले कोभिड नियन्त्रणका उत्कृत्ठ काम गरेको जनाउँदै वडा ३ का अध्यक्ष दीपक केसीलाई बिशेष सम्मान गरेको थियो। बिद्यालयमा कक्षा १२ सम्म करीब १ हजार ३ सय बिद्यार्थी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell