PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

दश वर्षपछि दिपायलमा हवाइ सेवा पुनः सञ्चालनमा, धनगढी सम्मका लागि हप्तामा एकपटक उडान



रासस

दश वर्षपछि दिपायलमा हवाइ सेवा पुनः सञ्चालनमा, धनगढी सम्मका लागि हप्तामा एकपटक उडान
फाइल फोटो।

डोटी : लामो समयदेखि बन्द अवस्थामा रहेको दिपायल विमानस्थलमा शुक्रवारदेखि साप्ताहिक रुपमा हवाइ सेवा शुरु भएको छ। समिट एयरले दिपायलदेखि धनगढीका लागि हप्तामा एकपटक उडान शुरु गरेको हो।

शुक्रवार पहिलो उडानमार्फत सो एयरले १३ जना यात्रु बोकेर धनगढीका लागि उडान भरेको हो। डोटीबाट निर्वाचित संघीय सासद प्रेमबहादुर आलेमगरको पहलमा दिपायल विमानस्थलको स्तरोन्नति गरिएसँगै बन्द भएको दश वर्षपछि पहिलो उडान भएको हो।

नेपाल सरकारको ८ करोड रुपैयाँको लगानीमा विमानस्थल कालोपत्रे तथा अन्य सामग्रीहरु निर्माण गरिएपछि निजी क्षेत्रको हवाइ कम्पनी समिट एअरले शुक्रवारबाट दिपायलदेखि धनगढी सम्म उडान भर्ने सहमति अनुसार पहिलो उडान गरिएको दिपायल विमानस्थलका कर्मचारी जगन्नाथ साउदले बताए।

समिट एयरका पाइलोट लाक्पा शेर्पाले नेपालका अन्य पहाडी जिल्लाका विमानस्थलभन्दा यो विमानस्थलमा उडान र अवतरण गर्न केही सहज हुने गरेको बताए। तत्कालका लागि दिपायलबाट धनगढीका लागि प्रतिव्यक्ति तीन हजार २०० रुपैयाँ भाडा निर्धारण गरिएको छ। सातामा एक दिन शुक्रवार उडान हुने नागरिक उड्यन प्राधिकरण दिपायलका प्रमुख विशाल घिमिरेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell