PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

घुस लिन राति ८ बजेसम्म खुल्यो पर्साको मालपोत कार्यालय, प्रशासनले छापा मार्दा कार्यालय प्रमुखसहित १५ जना नियन्त्रणमा



राधेश्याम पटेल

घुस लिन राति ८ बजेसम्म खुल्यो पर्साको मालपोत कार्यालय, प्रशासनले छापा मार्दा कार्यालय प्रमुखसहित १५ जना नियन्त्रणमा

वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले मालपोत कार्यालयमा छापा मारेर १५ जनालाई नियन्त्रणमा लिएको छ।

राति अबेरसम्म मालपोत कार्यालय खुलेको सूचनाको आधारमा छापा मार्दा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सुमनकुमार झासहित १५ जनालाई पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ७ जना मालपोत कार्यालयका कर्मचारी र ८ जना जग्गा दलाल तथा लेखपढ व्यवसायीहरु रहेको बताइएको छ।

बिहीबार राति छापा मार्दा पक्राउ परेका ७ जना कर्मचारीलाई बयानको लागि जिल्ला प्रशसान कार्यालयमा बोलाइएको र बाँकी ८ जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

तामाङका अनुसार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा गएको टोलीले कर्मचारी र बिचौलियासँग केही कागजात र नगद बरामद गरेको जनाइएको छ।

प्रशासनले पक्राउ गरेको ८ जना विचौलिया मध्येमा धर्मेन्द्र शाह, रमेश यादव, लेखमान कुमार यादव, ज्ञानेन्द्रप्रसाद यादव, वीरेन्द्र कुमार साह, रमेश प्रसाद चौधरी, विजयविक्रम शाह र विभूषण प्रसाद पटेल रहेका छन्। उनीहरुको ठेगाना खुलेको छैन।

प्रशासनले पक्राउ परेका कर्मचारीहरुलाई हिरासतमा नराखी तारेखमा राखेर बयान लिइरहेकोले पैसाको चलखेल भएको हुन सक्ने बताइएको छ। यस विषयमा पर्साका प्रहरी उपरीक्षक गंगा पन्तसँग बुझदा उनले बिहीवारको अप्रेशन जिल्ला प्रशासन कार्यालय पर्साको भएकोले कति जना रिहा भए भन्ने बारेमा पर्साका सिडिओले बताउने जवाफ दिइन्।

यता, पर्साका प्रमुख जिल्ला अधिकारी तामाङसंग बुझ्दा उनले शुरुमा कर्मचारीको बयान लिइरहेको र त्यसैको अधारमा कर्मचारीहरुलाई आवश्यक कारवाही गरिने बताए।

अबेर राति ८ बजे सम्म कार्यालय खोलेर व्यक्तिगत स्वार्थको अधारमा काम गरिहेको सूचनाको अधारमा प्रशासनले छापा हानेको उनले बताए।

अहिले पर्सामा प्रशसानले कार्यालयमा भीडभाड नहोस भन्ने उदेश्यले आईतवार र सोमवार वीरगंज महानगर, मंगलवार र बुधवार पर्साका तीन वटा नगरपालिका र बिहीवार र शुक्रवार पर्साका १० वटा गाउँपालिकाको लागि जिल्ला प्रशासन कार्यालय पर्सा, नापी कार्यालय पर्सा, मालपोत कार्यालय पर्सा, भूमिसुधार कार्यालय पर्सा तथा यातायात कार्यालय संचालन गरिरहेको छ। यसरी सातामा दुई दिन मात्र काम हुने भएकोले सरकारी कार्यालयहरुमा घुसखोरी र अबेर राति सम्म काम गर्ने परम्परा विकास भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell