PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोना प्रभाव : वीरेन्द्रनगरका ३० प्रतिशत होटल व्यवसायी पलायन, पाँच हजार मजदुरले गुमाए रोजगारी



पी बी खड्का

कोरोना प्रभाव : वीरेन्द्रनगरका ३० प्रतिशत होटल व्यवसायी पलायन, पाँच हजार मजदुरले गुमाए रोजगारी

सुर्खेत : कोरोना संक्रमण फैलिएसँगै नेपालमा गएको चैत ११ गतेदेखि लकडाउन भयो। कोरोनाले व्यवसाय खोल्नु त परको कुरा खोलेका व्यवसाय र उद्योगहरु समेत बन्द हुँदा युवाले पाइरहेको रोजगारी समेत गुमाउनु पर्‍यो। अहिले सम्पूर्ण पेशा व्यवसाय खुलाएपनि कर्णाली प्रदेश पुरानै अवस्थामा भने फर्किन सकेको छैन।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सम्पूर्ण होटेल, रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बद्ध सम्पूर्ण व्यवसायहरु पूर्ण रुपमा बन्द रहे। लकडाउन भएसँगै सुर्खेत मात्रै नभएर देशभरका व्यवसायीलाई ठूलो धक्का लाग्यो। कोरोनाको संक्रमण बढ्ने संकेत पाएपछि सरकारले जारी गरेको लकडाउनका अवधिमा यहाँका होटल व्यवसायीहरु प्रत्यक्ष रुपमा मारमा परे। कोरोनाबाट कर्णालीको पर्यटन क्षेत्र, होटेल व्यवसायी र उद्योगीहरु बढी मारमा परेका हुन्।

‘अहिले लकडाउन खुलेपनि पूर्ण रुपमा व्यवसाय चलाउन सकिएको छैन’, होटेल व्यवसायी अमर शाहीले भने, ‘व्यवसाय खोलेका छौँ तर घरभाडा, कर्मचारीलाई तलब, विद्युत र पानीको खर्चसम्म तिर्न सक्ने आम्दानी छैन।’

लकडाउनकै कारण होटेल व्यवसायी प्रत्यक्ष मारमा परेका होटेल व्यवसायी संघ सुर्खेतका जिल्ला अध्यक्ष गोरख रावतले बताए।

अध्यक्ष रावतका अनुसार उपत्यकामा १४ सय होटेल दर्ता भएका छन्। उनले लकडाउनले गर्दा यहाँका ३० प्रतिशत व्यवसायी पलायन भएको गुनासो गरे। यहाँका होटेलमा काम गर्ने पाँच हजार श्रमिकले आफ्नो रोजगार गुमाएको उनले जनाए। यसमा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारको ध्यान नगएको अध्यक्ष रावतले गुनासो गरे।

‘अहिले यहाँका व्यवसायीको अवस्था धेरै नै गाह्रो छ। सरकारले समयमै उचित सम्बोधन नगरे यहाँका अझै धेरै रेस्टुरेन्ट व्यवसायी पलायन हुने अवस्था हुन्छ,’ उनले भने।

कोरोनाअघिको समय रेस्टुरेन्टमा जाने, खाने र रमाइलो गर्ने संस्कृति मौलाइरहेको थियो। रेस्टुरेन्ट व्यवसायको लगानीलाई अरूभन्दा सुरक्षित र प्रतिफलमुखी मानिएको थियो। तर, एकाएक आएको कोरोना संकटले यो व्यवसायलाई थला पारिदिएको छ।

वाणिज्य संघ सुर्खेतका महासचिव लक्षमण कँडेलले लकडाउनका कारण सुर्खेतका धेरै व्यवसायीहरुले व्यवसाय गर्ने स्थिति नभएकै कारण पसल बिक्रीमा राखेको बताए।

‘लकडाउनले गर्दा यहाँका व्यवसायी यतिसम्म मारमा परेका छन् की अहिले आफ्नो पसल बिक्रीमा राख्नेसम्म बाध्यता आइलागेको छ,’ उनले भने।

उनका अनुसार अधिकांश व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन्। यसरी दिनानुदिन व्यवसायीहरु पलायन भइृरहेको अवस्थामा राज्यले सम्बोधन गर्न नसकेको भन्दै तत्काल राहतको प्याकेज ल्याउनुपर्ने व्यवसायीहरुको माग छ।

‘व्यवसायीहरु पलायन भइरहेको अवस्थामा पनि न केन्द्र न प्रदेश सरकार कसैले पनि ध्यान दिएको देखिदैँन’, उनले भने, ‘कमसेकम प्रदेश सरकारले व्यवसायीहरुका हितका लागि राहत प्याकेज ल्याउनुपर्छ। त्यो भनेको सित्तैमा त्यसै बाड्नुस् भनेका छैनौँ, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराईदिनुस्, सकिन्छ भने, अहिले पेशा व्यवसाय संकटमा भएको अवस्थामा बैंकको किस्ता र ब्याजमा सहुलियत दिए व्यवसायीलाई राहत हुन्थ्यो।’

महासचिव कंडेलले थपे, ‘संघीय तथा प्रदेश सरकारले ल्याएको बजेटमा हाम्रा मागहरु सम्बोद्धन हुने खालका कुनै पनि कार्यक्रमहरु नआउनुले राज्यले हामीलाई उपेक्षा गरेको कुरा महसुस गरेका छौ।’

उनका अनुसार दिनरात मेहनत गरेर व्यवसाय सञ्चालन गर्दे त्यसैबाट कमाएको पैसाले घरबहाल, मजदुर ज्याला तथा राज्यलाई तिर्नूपर्ने सम्पूर्ण कर तथा महसुलहरु तिर्ने गरेका व्यवसायहरु पूर्ण रुपमा बन्द रहेका कारण धेरै व्यवसायहरु यस क्षेत्रबाट पलायन हुन थालिसकेका छन्। जसले गर्दा समग्र कर्णालीकै आर्थिक समृद्धिमा धक्का लाग्ने व्यवसायीको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell