PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

काठमाडौं महानगरपालिकाबाट १० युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान



पहिलोपोस्ट

काठमाडौं महानगरपालिकाबाट १० युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान

काठमाडौं : काठमाडौं महानगरपालिका शहरी योजना आयोगले विभिन्न १० विधामा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ।

नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजान उद्देश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको महानगरले जनाएको छ। यहि उद्देश्य अनुरुप आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो।

सम्झौतापत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दै मेयर शाक्यले महानगरपालिकाले आगामी नीति तथा कार्यक्रममा समेत समावेश गरी कार्यान्वय चरणमा लैजान सहज हुने गरी व्यवहारिक पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान तयार पार्न सुझाव दिए। उनले यस्ता अनुसन्धानले आफ्नै स्रोत–साधानको प्रयोग गरी समय सापेक्ष तथ्याङ संकलनमा केही हदसम्म टेवा पुग्ने विश्वास लिएको बताए।

महानगरपालिकाले दिने सेवा प्रवाह यहाँका मेयर, जनप्रतिनिधि र स्थानीयसँग मात्रै नभई ७७ ओटै जिल्लाका नागरिकको सेवासँग जोडिएको भन्दै फेलोसिपको मर्म पनि त्यसैसँग सम्वन्धित हुनेमा विश्वास व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले पनि सबै स्थानीय तहका लागि उदाहरणीय हुने खालको अनुसन्धान होस भन्ने अपेक्षा रहेको बताए। युवा अनुसन्धानकर्तालाई उत्साह प्रदान गर्ने उद्देश्यले समेत महानगरपालिकाले यस्तो कार्यको थालनी गरेको उनको भनाई छ।

सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले नेपालमा यस्ता खालका अनुसन्धानको चलन निकै कम रहेको भन्दै काठमाडौँ महानगरपालिकाले यस्तो सुरुवात गर्नु आफैमा गौरवको कुरा भएको बताए।

सम्झौताअनुसार अनुसन्धानकर्ताले बढीमा ६ महिनाभित्र अनुसन्धान कार्य सम्पन्न गर्नुपर्ने छ। अनुसन्धानको क्रममा बौद्धिक चोरी गर्न निषेध गरिएको छ भने चोरी भएको पाइएमा प्रथम पक्षले फेलोसिप तुरुन्त खारेज गरी निर्धारित रकम जफत गर्ने सम्झौतापत्रमा उल्लेख छ। अनुसन्धानका लागि महानगरपालिकाले प्रत्येक विधामा १ लाख ५० हजार दिने पनि सम्झौतामा उल्लेख छ।

पहिलो चरणमा ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका विद्यालयहरुमा गैर संक्रामक रोग सम्बन्धी जोखिम र स्वस्थ जीवनशैली सम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव, काठमाडौँको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यका भित्र दिगो जोखिम न्यूनीकरण गर्नका लागि निलो पूर्वाधार म्यापिङ, सम्बन्धी अध्ययन, काठमाडौँ उपत्यका भित्रको वायु गुणस्तर र वायु प्रदुषण संयन्त्र सम्बन्धि विश्लेषण अध्ययन, काठमाडौँका सामुदायिक विद्यालयका महिला प्राध्यापकहरुको अनुभवको मात्रात्मक अध्ययन छनोटमा परेको बस्नेतले जानकारी दिए।

त्यसैगरी पहिलो चरणमै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको बायोमास र कर्बोन स्टक सम्भाव्यता वृक्षारोपण सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिकाका जेष्ठ नागरिकहरुको जीवनको गुणस्तर सम्बन्धी कानुन, नीति र प्रमाण सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिकालाई नविन परिवर्तन हबको रुपमा विकास गर्न स्टेम शिक्षाको आवश्यकता सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिका क्षेत्र भित्रको नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धति सम्बन्धि अध्ययन पनि छनोट भएका छन्।

त्यस्तै काठमाडौँ महानगरपालिकाको शहरी विकास व्यवस्थापन (योजना तर्जुमा देखि कार्यान्वयनसम्म) मा संचारको भूमिका र प्रभावकारिता अभिवृद्धि सम्बन्धि अनुसन्धान प्रस्तावना पनि छनोटमा परेको छ। ती १० विधामा अनुसन्धानका लागि क्रमश प्रतिक खनाल, कृति प्रधान, सुरज गौतम, राजीब पोखरेल, सम्राट बस्याल, नबीनराज जोशी, कृपा सिग्देल, मनिषमान श्रेष्ठ, रबिन्द्र के सुवाल, गोपीकृष्ण ढुगानासँग सम्झौता भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell