
आरती ठकुन्ना १३ वर्षकी भइन्। उनलाई कथा, कविता लेख्न। चित्र कोर्न निकै मनपर्छ। आफूले लेखेका कविताहरू मञ्चमा उक्लिएर धेरै मानिसका अगाडि वाचन गर्नु उनको रुचीको विषय हो।
केही महिनाअघि उनी बैतडीको गोठानीबाट काठमाडौं उपत्यका आएकी थिइन्। उपचारका लागि। आरतीको समस्या – घाँटी र छातीको छालामा मासु पलाएका थिए। ती घाउँबाट पिप बगिरहन्थ्यो। आरतीको खुट्टामा पनि समस्या छ। उनी देब्रे खुट्टा खोच्याएर हिँड्छिन्। उनको घाउँको उपचार केही समय स्थानीय स्वास्थ्य चौकीमा गराइएछ। त्यहाँको औंषधी उपचारले ठीक भएन। काठमाडौं आइपुग्दा उनको स्वास्थ्यस्थिति बिग्रदो थियो।
पाटन अस्पतालमा उनको मासुको जाँच (बायप्सी) भयो। तर, समस्या के हो? पहिचान हुन सकेन। त्यसैले उनको काठमाडौं बसाइ लम्बियो। अस्पतालमै रहँदा (पुस २ गते) उनले स्कूलको वार्षिक कार्यक्रममा वाचन गर्नका लागि कविता लेखेकी थिइन्। तर, स्कूलमा भव्य कार्यक्रम हुँदा यता उनको उपचार भइरहेको थियो।
आफ्नो उपचारमा खटिएका डाक्टर सजल त्वानाबासुसँग गुनासो पोखिन्। सोधिन् : मैले अब यो कविता कहिले, कसलाई सुनाउने?
सजलले तत्काल जवाफ दिए – सुनाउने होइन छपाउने है? पत्रिकामा।
छपाउने त भने तर कहाँ, कसरी? उनले पनि सोचेका थिएनन्। त्यस समय केही पत्रिका र अनलाइनमा इमेल त गरेका हुन् तर कहींबाट पनि जवाफ पाएनन्। ‘उसलाई खुशी बनाउन र सधैं लेख्न प्रेरित गर्नका लागि वचन दिएँ। निकै राम्रो लेख्ने भएकाले होइन, अस्पतालको शय्यामा पनि लेख्न कोशिश गरेको देखेर’, डाक्टर सजलले भने। उनलाई लाग्छ आरतीले समाजमा देखिएको यथार्थलाई कवितामा निर्दोष ढङ्गमा प्रस्तुत गर्छिन्।
आरतीको छालामा क्षयरोग देखियो। थप उपचार आवश्यक थियो। तर, उनलाई हजुरआमाले पुन: बैतडी लिएर गइन्।
उनले काठमाडौं छाडेको करिव ९ महिनापछि सजल उनलाई उपहार पठाउन चाहन्छन्। उनको बाल कविताको प्रकाशित स्वरुप। शिघ्र स्वास्थ्य लाभको कामनासहित :
१. हिमाल हाँस्छ मिलाइ सेता दाँतका लहर
सुन्दर हाम्रो नेपाल प्रकृतिको यो झन्कार
फूल फूल्छ फूलबारीमा भमरी रमाउँछ
भुनभुन गरी भमरी फूलको रस चुस्दछ
हिउँ खस्ने हिउँचुली दिउँ नदीलाई पानी
पानीबाट बिजुलीले चल्ने जिन्दगानी
बसेर हामी हुर्केको आमाको काख एउटै हो
शरीरमा बगेको रगत नि हामी सबैको एउटै हो
भाषा र धर्म संस्कृति छन् है हाम्रो विशाल
सेतो सेतो हिमाल बिचमा हाम्रो नेपाल
सुन्दर हाम्रो देश जय जय नेपाल।
२. माथी हिमाल हाँसेको
तल नदी बगेको
कुहुकुहु कोइली बासेको।
जति छोरा भएनि घरमै अटाउने
एउटी छोरी भएनि डाँडै कटाउने
माथी हिमाल हाँसेको
तल नदी बगेको
न्याउली विरह गाएको।
बन कि चरी बनमै रमाउने हो
छोराछोरी दुबैलाई बराबर मान्ने हो
छोराजस्तै छोरीलाई
पढ्न लेख्न दिने हो।