- संजय मानन्धर
बाल्यकालको एक सुन्दर क्षण,
जब आफ्नो प्रतिबिम्ब शान्त पानीमा देखें -
टोलाएँ, खुशीले गद्गद् भएँ,
ढुंगाले पानीमा हानें,
पानीका लहरहरूको प्रतिबिम्ब बिग्रियो,
एक छिन शान्त शुन्यतामा बसें,
फेरि छर्लंग देखियो - त्यहि मेरो प्रतिबिम्ब I
पछि किशोरावस्थामा प्रवेश भएँ,
मैले ऐनामा ´मेरो´ प्रतिबिम्ब देखें ,
´म´ जस्तै तर म नै हैन।
दुवै प्रतिबिम्बहरु जुन मैले देखेकोथें
´मेरो´ प्रतिबिम्ब थियो ´म´ थिएन
त्यही ´म´ र ´मेरो´ को फरक
बुझ्न चाहन्छु म।
सोचको सागरसरी गहिराइमा डुबें...
साँच्चै ईश्वोरले यो श्रृष्टिमा मानवको
रचना गर्नुभयो,
आफ्नो स्वरूपमा - प्रतिबिम्बमा।
हामी मानव ईश्वरको प्रतिबिम्ब,
हामी मानवभित्रको ´म´ ईश्वरको प्रतिबिम्ब।
हाम्रो शरीर, जसलाई हामी ´म´ भन्छौं,
त्यो फेरी हामी भित्रको ´म´ को प्रतिबिम्ब।
त्यहि शरीर हामी बाह्य संसारको
ऐना, तलाउ, सागर, स्वच्छ पानी, धमिलो पानीमा देख्छौं -
हेर्छौं र खुशीले गद्गद् भई उफ्रिन्छौँ, रमाउछौँ,
उत्सव मनाउछौँ,
त्यसैमा भुल्छौँ।
´यत्पिण्डे तत् ब्रह्माण्डे´
जे हामीभित्र छ, त्यसको प्रतिबिम्ब
ब्रह्माण्डमा छ।
ब्रह्माण्ड हाम्रो प्रतिबिम्ब,
यो संसार हाम्रो प्रतिबिम्ब,
तर हामी संसार हैन।
हामी त्यहि प्रतिबिम्बित संसारमा
वास्तविक ´म´ खोजिरहेछौं।
बाल्यकाल, किशोरावस्थामा
पानी र ऐनाको
प्रतिबिम्बलाई ´म´ ठानेर
त्यसैमा भुलेजस्तै
हामी संसारमा भुलिरहेछौं -
बेकाममा डुलिरहेछौँ।
संसार मात्र प्रतिबिम्ब हो।
प्रतिबिम्ब वास्तविकता हैन, सत्य हैन।
त्यो त भ्रम हो।
त्यहि भ्रमलाई सत्य मानि
त्यसैमा रुमल्लिन्छौँ,
जीवनको वास्तविकता बिर्सन्छौं।
हाम्रो प्रतिबिम्बलाई हामी
पद, पैसा, प्रतिष्ठा, पत्नी, माया, मोह र
यो संसारमा देख्छौं।
यसरी नै ´म´ को अस्तित्व विस्तारै विलय हुँदैछ।
मात्र ´मेरो´ भावनाको उदय हुँदैछ।
हामी आफ्नो जीवन नै झुठो प्रतिबिम्बमा बाच्दैछौँ -
वास्तविकतामा हैन।