काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन्। साथै उनले अष्टमीका दिन शक्ति पीठहरुमा दर्शन गर्न जाने परम्परालाई पनि रोक्ने भएका छन्।
पूर्व राजा शाहका सहयोगी फणिन्द्र पाठकले जनाएअनुसार कोरोना भाइरसको संक्रमणका कारण परम्परागत रुपमा गर्दै आएका गतिविधिलाई बन्द गरिउको हो।
कोरोना भाइरसको संक्रमण नेपालमा लगातार बढिरहेको छ। साथै महत्वपूर्ण धार्मिक स्थलहरु पनि बन्द गरिएको छ। लकडाउन भएयता नै मन्दिरका ढोकामा ताल्चा लगाइएको छ।
'कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैं पर्व शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो गरिबक्सेको छ,' पाठकद्वारा जारी सूचनामा भनिएको छ, 'साथै यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजय दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ।'
