PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानमन्त्री ओलीले भने, ‘विवाद दुई अध्यक्षले मिलाउँछौँ, तत्काल काठमाडौं नछोड्नु’



कुञ्जरमणि भट्टराई

प्रधानमन्त्री ओलीले भने, ‘विवाद दुई अध्यक्षले मिलाउँछौँ, तत्काल काठमाडौं नछोड्नु’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली विवादबारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेर छिट्टै निर्णयमा पुग्ने बताएका छन्। कर्णाली प्रदेशकाे विवादबारे ओलीले आज बालुवाटारमा भएको छलफलमा यस्तो बताएका हुन्।

छलफलमा  ओलीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाह, प्रदेश सभा सदस्य चन्द्रबहादुर शाही, नेकपा प्रदेश सचिव माया प्रसाद शर्मा लगायतका नेताहरुको ब्रिफ्रिङ लिएका थिए। झण्डै तीन घण्टा लामो छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

‘प्रदेशको समस्याबारे ब्रिफ्रिङ गर्ने काम भयो। हामीले आफ्ना कुरा राख्यौं। त्यसपछि प्रधानमन्त्रीले दुई अध्यक्ष छलफल गरेर निर्णय गर्छौं भन्नुभयो,' भेटबारे प्रदेश सभा सदस्य शाहीले भने।

सचेतकबाट निलम्बनमा परेका शाहका अनुसार प्रधानमन्त्रीले दुई अध्यक्षले विवाद छिट्टै समाधान गर्ने भन्दै काठमाडौं नछोड्न निर्देशन दिएका छन्।

‘हामी दुई अध्यक्ष बसेर विवाद मिलाउँछौं। तपाईहरु काठमाडौं छोडिनहाल्नुस् भन्नुभएको छ,' शाहले भने।

मुख्यमन्त्री शाही विरुद्ध गत आइतवार प्रदेश सहइन्चार्ज कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। जसमा १८ सांसदले हस्ताक्षर गरेका थिए। उत्कर्षमा पुगेको विवाद समाधानका लागि मुख्यमन्त्री शाही र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई एक सचेतक सहित तीन मन्त्री दिनेगरी सहमति भएको थियो। उक्त सहमतिसँगै नेपाल पक्षका ७ जना सांसद प्रस्तावबाट व्याक भएका थिए।

लगत्तै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई बिहीवार छलफल गर्नेगरी मंगलवार काठमाडौं बोलाएका थिए। तर, अझैसम्म पनि संयुक्त रुपमा छलफल हुन सकेको छैन।

अध्यक्ष प्रचण्डले दुई पक्षसँग बिहीवार र शुक्रवार छुट्टाछ्टै छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले प्रचण्डलाई  शनिवार बालुवाटार डाके पनि उनी अनुपस्थित भए।

प्रचण्डले ओलीलाई पहिले नेताहरुसँग छलफल गर्न भन्दै त्यसपछि मात्रै संयुक्त छलफल गर्ने जानकारी दिएका थिए।

‘मैले उहाँहरुसँग दुई दिन छलफल गरिसकेको छु। पहिले तपाईँले छलफल गर्नुस्। त्यसपछि मात्रैसँगै बसौंला,' प्रचण्डको भनाइ उदृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell