PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

वडा कार्यालयको भवन उद्घाटनमा मेयर-उपमेयरबीच विवाद, शिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयरले बजारिन् ढुंगा



एम बम

वडा कार्यालयको भवन उद्घाटनमा मेयर-उपमेयरबीच विवाद, शिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयरले बजारिन् ढुंगा

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा मेयर र उपमेयरबीचको गुटगत राजनीतिले निर्वाचित भए देखिनै आन्तरिक विवाद शुरु भएको थियो। तर, शनिवार भने त्यो आन्तरिक विवाद उदाङ्गो भयो। शनिवार नगरपालिका अन्तर्गत वडा नम्बर ७ को भवन उद्घाटनका क्रममा मेयर र उपमेयरबीच झन्डै हातहालाहालको अवस्था सिर्जना भयो।

शनिवार बिहान भवन उद्घाटन कार्यक्रममा आफ्नो नामको शिलालेख नराखेको भन्दै उपमेयर प्रेम कुमारी थापाले शिलालेखमा ढुंगा बजार्दै विरोध गरेपछि हातहालाहालको अवस्था सिर्जना भएको थियो।

शिलालेखमा ढुंगा बजार्न थालेपछि मेयर ममताप्रसाद चौधरीले उपमेयर थापाको हात हटाउँदै त्यसो नगर्न भने। मेयर चौधरीले मर्यादाको पनि हद हुन्छ नि भन्दै बस्न आग्रह गर्छन् तर उपमेयरले उनको आग्रहलाई मानिनन्। मेयरले शिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयर थापाले वडा कार्यालयको भवन उद्घाटनका क्रममा शिलालेखमा ढुंगा बजारेको बताए।

यता उपमेयर थापाले पनि शिलालेखमा आफ्नो नाम राख्न आग्रह गर्दागर्दै पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतले बाइपास गरेकाले त्यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिएकी छन्। कार्यपालिकामा कुनै छलफल नगरी एकाएक नगर प्रमुखले एकलौटी ढंगबाट नाम लेख्न दिएको उनको आरोप छ।

घोडाघोडी नगरपालिकाका मेयर चौधरी प्रधानमन्त्री केपी शर्मा ओली गुटका हुन् भने उपमेयर प्रेम कुमारी थापा पूर्व प्रधानमन्त्री माधव नेपाल गुटकी हुन्।

वडा नम्बर ७ का वडा सदस्य देव चरण चौधरीका अनुसार शिलालेखको विषयलाई लिएर मेयर उपमेयरबीच हातहालाहालको अवस्था सिर्जना भएपनि उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell