PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विराटनगरमा प्रि-कोभिड अस्पताल निर्माण हुने, शेखर कोइरालाको आह्वानमा भयो सर्वपक्षीय सहमति



अनन्तराज न्यौपाने

विराटनगरमा प्रि-कोभिड अस्पताल निर्माण हुने, शेखर कोइरालाको आह्वानमा भयो सर्वपक्षीय सहमति

विराटनगर : मोरङका उद्योगवाणिज्य संस्थाले विराटनगरमा १०० शय्याको प्रि–कोभिड अस्पतालको निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नेतृत्वमा शनिबार अपराह्न भएको भर्चुअल कार्यक्रममा तीन वटा उद्योगवाणिज्य संस्थाले प्रि–कोभिड अस्पतालको निर्माण गर्न सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका हुन्।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र विराट व्यापार संघका अध्यक्ष सुजन थापाले डा. कोइरालाबाट प्रस्तुत अवधारणा उपयुक्त र समयसापेक्ष रहेको भन्दै यसका लागि आआफ्नो संस्थाले योगदान गर्ने बताए।

कोइरालाले कोभिड–१९ का बिरामीहरूले अस्पतालमा सामान्य शय्या पनि नपाएर छटपटाएर मर्नुपरिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा विराटनगरमा सार्वजनिक–निजी साझेदारीको अवधारणामा प्रि–कोभिड अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

उनले आगामी कोजाग्रत पूर्णिमाका दिनभित्र अस्पताल सञ्चालनमा ल्याइसक्नु पर्ने बताए।

वरिष्ठ चिकित्सक डा. जगदीशप्रसाद अग्रवालले प्रि–कोभिड अस्पतालको अवधारणा प्रस्तुत गर्दै यस अस्पतालमा अक्सिजन, स्टेरोइड, रेमडिसिभर, डेक्सामेथासोन सबै दिन सकिने राय व्यक्त गरे।

उनले भएकै संरचनामा तत्कालै १०० शय्याको अस्पतालको निर्माणका लागि ५० लाख रुपैयाँ खर्च हुने र मासिक १० देखि १५ लाख रुपैयाँ सञ्चालनमा लाग्ने बताए।

‘अवस्था जटिल बन्दै’

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले अबको २ महिनाभित्र देशभित्र कोभिड अस्पतालको क्षमता ६ गुणाले वृद्धि गरिसक्नु पर्ने सुझाव दिए।

अध्यक्ष कार्कीले भने, ‘बितेका २ महिनायता कोरोना संक्रमण ४ गुणाले बढेको छ। अस्पतालहरू सबै प्याक भइसके। दशैँ, तिहार र छठजस्ता चाडवाड आइरहेका छन्। त्यसैले आगामी २ महिनामा यो संक्रमण ५ गुणाले बढ्ने देखिएको छ। हामीले अस्पतालको क्षमता ६ गुनाले वृद्धि गर्नुपर्छ।’

उनले कोभिड अस्पतालमा बस्नु नपर्ने खालका संक्रमित पनि डेरा र साँघुरो घरमा बस्दै आएकाले पनि उनीहरु अस्पतालमा बस्न बाध्य हुनुपरेको उल्लेख गरे।

कार्कीले सरकारले तुरुन्त अस्पताललाई लिजमा लिएर कोभिड अस्पताल बनाउनुपर्ने धारणा राखे।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश नम्बर १ मा आइसियु र अस्पतालको शय्या नपाएर बिरामीले मृत्युवरण गरिरहनु परेको बताए।

प्रमुख पराजुलीले विराटनगरको जैन भवन, अतिथि सदन, नोबेल अस्पताल, विराट अस्पताल, धरानको बीपी प्रतिष्ठान लगायतका स्थानमा कोभिड अस्पताल बनाउन सकिने बताए।

प्रदेश नम्बर १ को प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले धरान, विराटनगर, झापा सबैतिर पीसीआर मेसिन बिग्रिएको जानकारी दिँदै कोशी अस्पतालमा भएको एक मात्र मेसिनबाट रिपोर्ट आउन ७ दिन कुर्नुपर्ने अवस्था रहेको उल्लेख गरे।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार शारडाले सरकारले नसके हामीले निजी स्तरमा भए पनि कोभिड अस्पताल बनाउनु पर्ने अवस्था उत्पन्न भएको चर्चा गरे।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले रकमको सदुपयोग, पारदर्शिता र कुशल व्यवस्थापनको प्रत्याभूति र इच्छाशक्ति हुने हो भने विराटनगरमा साधनस्रोत संकलनको अभाव नहुने घोषणा गरे।

व्यापार संघका पूर्व अध्यक्ष महेश जाजूले प्रतिपक्षी भूमिका समेत उचित ढंगले निर्वाह गर्न नसकेको नेपाली कांग्रेसले प्रस्तुत गरेको विराटनगरमा प्रि–कोभिड अस्पतालको अवधारणालाई सहयोग गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell