PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

वडाध्यक्षले नागरिकता सिफारिस नगर्दा वीरगंजमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, हिंसा फैलिने आशंकामा त्रास



राधेश्याम पटेल

वडाध्यक्षले नागरिकता सिफारिस नगर्दा वीरगंजमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, हिंसा फैलिने आशंकामा त्रास

वीरगंज : वीरगंज महानगरपालिका -२८ बगहीमा तत्कालिन समाजवादी पार्टी र नेपाली कांग्रेसका नेता पक्षबीचको विवाद उत्कर्षमा पुगेको छ। विवाद बढ्दै जाँदा दुवै पक्षबीच कयौंपटक झडप भइसकेको छ। झडपमा कसैको ज्यान जान सक्ने खतरा रहेको स्थानीय बताउँछन्। झडपका कारण हालसम्म डेढ दर्जन मानिस घाइते भइसकेका छन्। दुवै पक्षबीच विवाद बढेर हिंसा फैलिन सक्ने भन्दै प्रहरीले बिहान र बेलुका गाउँमा निगरानी बढाएको छ।

तत्कालिन समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष गिरजादेवी कुर्मिन र नेपाली काँग्रेसबाट वडा अध्यक्षमा १५ मतले हार बेहोरेका सरयुग महतो धानुक पक्षबीच अहिले द्वन्द्वको अवस्था सिर्जना भएको स्थानीय बताउँछन्।

नागरिकता सिफारिसको विषयबाट एक साता अघि शुरु भएको विवाद दैनिक झडपमा परिणत भएको हो। गत असोज २७ गते स्थानीय स्व.सुदिष्ट महतो धानुकको एक छोरा र एक छोरी गरी दुई जनाको नागरिकता सिफारिस गराउन जाँदा वडा अध्यक्ष कुर्मिनले सिफारिस गर्न अस्वीकार गरेपछि नेपाली कांग्रसको समूह आक्रोशित बनेको हो।

सरयुग महतो धानुक

सरयुग महतो पछिल्लो चुनावमा झिनो मतले पराजित भएका थिए। त्यसैले आगामी निर्वाचनलाई लक्षित गर्दै उनले गाउँमा नागरिकता बनाउन छुटेका युवाहरुको नागरिकता बनाई मतदाता नामावलीमा दर्ता गराउन अभियान चलाएको बताइन्छ। तर, वडा अध्यक्षले नागरिकता सिफारिस नगरिदिँदा विवाद बढेको महतो पक्षको दाबी छ।

यता, वडा अध्यक्ष कुर्मिनका भने सुदिष्टका छोरीको र छोराको उमेरको अन्तर ६ महिना भएकोले जन्ममिति सच्याउन भनेर सिफारिस नगरेको बताउँछिन्।

‘छोरीको जन्म मिति २०५९ असोज १० छ। छोराको उमेर २०६० बैशाख १४ रहेको छ,’उनले भनिन्,‘६ महिना भित्र कसरी दुई सन्तानको जन्म भयो? मलाई अशंका लाग्यो केही गल्ती छ भनेर त्यसैले सिफारिस रोकें। त्यसपछि सिफारिस गराउन आएको समुहले कार्यालयमा तोडफोड र आक्रमण गरे।’

वडा अध्यक्ष गिरजादेवी कुर्मिन

नागरिकता सिफारिसमा विवाद बढदै गएपछि दुई पक्षका कार्यकर्ताबीच दैनिक रुपमा कुटपिट हुने गरेको छ।

वडा अध्यक्ष पक्षका करिब एक दर्जन मानिस घाइते भएका छन् भने सरयुग महतो पक्षको ६ जना घाइते भएका छन्।

वडा अध्यक्ष पक्षबाट झडपमा संलग्न रामाज्ञा राउत, राम अयोध्या राउत, रामानन्द राउत, राजजीतन राउत, अमित पटेल, विकी पटेल, ध्रुप पटेल, राजु पटेललगायत घाइते भएका छन्। १० जना तराई अस्पतालमा उपचार गरी घर फर्किसकेका छन् भने रामाज्ञा र रामानन्दको उपचार जारी छ।

सरयुगका पक्षका हरिशंकर महतो र उनका ६ वर्षीय छोरा कुनाल महतो, भाइ मोतिलाल महतो, दिपलाल महतो, शिवनाथ रायभर र रामनारायण मण्डल गरी ६ जना घाइते भएका छन्। यी मध्ये चार जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

दुबै पक्षको विवाद राजनीतिक हिंसा फैलाउन सकिने खालको भएकोले गाउँले त्रसित बनेका छन्। स्थानीयले दुवै पक्षले संयम अपनाएर समस्या समाधानको लागि बाहिरी गाउँको पञ्च भद्रभलादमीको रोहबरमा पञ्चायतीबाट विवाद सुल्झाउन सुझाव दिएका छन्।

साथै,स्थानीय प्रहरी प्रशासनले पनि विवाद साम्य पार्न भूमिका निर्वाह गर्नुपर्ने माग स्थानीयको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell