काठमाडौं : केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को टोलीले पछिल्लो समय केही पुराना घटनाका अभियुक्तहरुलाई खोजी गरिरहेको छ। सोही क्रममा टोलीले शुक्रवार ११ वर्षअघि ललितपुरमा आफ्नै सहकर्मीको हत्या गरी फरार रहेका दुई जना अभियुक्तलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरुमा मकवानपुर भीमफेदी नगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय भीमसेन घागा मगर र ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन्। उनीहरुलाई बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाबाट नियन्त्रणमा लिएको व्यूरोका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए। नियन्त्रणमा लिएका दुई जना मामा भान्जा नाता पर्छन्।
उनीहरुले २०६६ वैशाख २८ गते राति ११ बजे ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १३ स्थित आरएम ईटा भट्टामा काम गर्ने मकवानपुर भीमफेदी नगरपालिका घर भएका ३६ वर्षीय डिलबहादुर योञ्जनको हत्या गरी फरार भएको प्रहरीले जानकारी दिएको छ।
उनीहरुले योञ्जन सुत्ने कोठा बाहिर कोदाली (फरुवा) को बिँडले हानी, कुटपिट गरी घाइते बनाएका थिए। घाइते योञ्जनको उपचारको क्रममा ३१ गते वीर अस्पतालमा मृत्यु भएको थियो। उनीहरुले सामान्य विवादमा हत्या गरेको खुलेको छ। त्यसपछि उनीहरु ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँ दिल्ली पुगेको एसपी पाण्डेले जानकारी दिए।
लामो समय भारतमा बसेका उनीहरुले आफ्नो बास्तविक परिचय समेत परिवर्तन गरेको भेटिएको छ। भारतीय आधारकार्ड समेत बनाई रामकृष्ण चुनी मगर प्लाष्टिक कारखानामा काम गर्ने र भीमसेन घागा मगरले अटो रिक्सा चलाउने काम गर्थे। उनीहरुले आफ्ना श्रीमती समेत भारतमा नै लगेको थिए।
