PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सुनसान भए फ्रान्सका सडक, कर्फ्युले के नियन्त्रणमा ल्याउला संक्रमणको वेभ?



पहिलोपोस्ट

सुनसान भए फ्रान्सका सडक, कर्फ्युले के नियन्त्रणमा ल्याउला संक्रमणको वेभ?

शनिवार रातिबाट सुरु भएको कर्फ्युका कारण पेरिस र सँगैका आठ शहरुहरुका सडक सुनसान देखिएका छन्। कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्न थालेपछि रात्रिकालीन कर्फ्युको घोषणा गरिएको थियो जुन आजबाट लागू भएको छ।

युरोपको कोभिड १९ हटस्पटमध्येको एक हो फ्रान्स जहाँ फेरि ह्वात्तै संक्रमितहरुको संख्या बढ्न थालेको छ। कोरोनाको कहर सम्हाल्नका लागि रात्रिकालीन कर्फ्युको आदेश गरिँदा त्यो विवादित पनि बन्न पुगेको छ।

विशेषगरी रेस्टुराँ संचालकहरुको कर्फ्युप्रति विमति रहेको छ। यसअघि लकडाउन हुँदा दुई महिना पूरै व्यापार बन्द भएको थियो। नयाँ सुरक्षा सतर्कतासहित लडकडाउन खुलेर रेस्टुराँहरु संचालनमा आएका थिए। 

फ्रान्समा जस्तै इटालीमा पनि कोभिड संक्रमितको संख्या बढिरहेकाले छिट्टै निषेधात्मक व्यवस्था लागू हुने अपेक्षा गरिएको छ। 

कोरोना भाइरसको पहिलो वेभमा इटाली सबैभन्दा चर्को संकटमा परेको थियो। शनिवार नयाँ रेकर्डसहितको संक्रमित संख्या दर्ता भएपछि इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले प्रतिबन्धको घोषणा आइतवार गर्ने बताइएको छ। नयाँ घोषणाले अति आवश्यक नभएका सेवाका क्षेत्रहरु विशेषगरी जिमखाना, पौडी, अमेच्योर खेल जस्ता गतिविधिमाथि नियन्त्रण गर्ने सम्भावना रहेको स्थानीय मिडियाले जनाएका छन्। 

फ्रान्सको अहिलेको कर्फ्युमा २ करोड मानिसहरु प्रभावित भएका छन्। उनीहरुले एक महिना लामो रात्रिकालीन कर्फ्यु बेहोर्दैछन्। राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्युको समय निर्धारण गरिएको छ।

अस्पतालहरुमा बेड अभाव नदिन कर्फ्यु अनिवार्य बन्न पुगेको राष्ट्रपति इम्मानुल म्याकरोनले बताएका छन्।

तर धेरै मानिसहरु यस्तो कर्फ्युले पार्ने आर्थिक क्षतिबाट चिन्तित छन्। 

'यसमा सबैभन्दा खराब अवस्था कामदारले भोग्नेछन् किनकि उनीहरुले रोजगारी गुमाउनुपर्ने छ,' पेरिसमा रहेको इटालियन रेस्टुराँ विनाकोका व्यवस्थापक स्टेफ्नो एन्सेल्मोले भने, 'यो डिज्यास्टर हो।' 

शनिवार फ्रान्समा ३२ हजार ४ सय २७ नयाँ संक्रमित थपिएका छन्। एक दिन अगाडि २५ हजार ८६ जनामा संक्रमण पुष्टि भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell