वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को जात्रा कोरोना भाइरसको संक्रमणका कारण यो वर्ष औपचारिकतामा मात्रै सीमित भयो। भदौ २९ गते पुल्चोकमा रथयात्रा टुंगाएर रातो मछिन्द्रनाथलाई बुंगमती लगियो।
ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको रातो मछिन्द्रनाथको मन्दिर २०७२ साल वैशाख १२ गतेको भूकम्पमा भत्किएको थियो। भूकम्पपछि प्रधानमन्त्री केपी शर्मा ओली आफै बुंगमती पुगेर मन्दिर बनाउन शिलान्यास गरेका थिए। ठेकेदारका कारण लामो समय मन्दिर पुनर्निर्माण अलपत्र बन्यो। जसकारण ५ वर्षदेखि बुंगमतीमा रातो मछिन्द्रनाथ अस्थायी मन्दिरमा बस्न बाध्य भए।
लामो समयसम्म मन्दिर नबन्दा स्थानीय र पानेजु (पुजारी) हरु आक्रोशित थिए। ठेकेदारबाट मन्दिरको काम गराउन सुरु भएपनि ठेकेदारले मन्दिरको स्वरुप नै बिगार्ने प्रयास गरेपछि स्थानीय र पानेजुहरुले विरोध गरेका थिए। त्यसपछि रोकिएको काम हाल उपभोक्ता समितिमार्फत सुरु भएको छ। कोरोना कहरका कारण मन्दिर निर्माण प्रक्रिया सोचे अनुरुप हुन नसकेपनि दैनिक रुपमा काम भइरहेको छ बताउँछन् रातो मछिन्द्रनाथ पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्य।
भूकम्पले मन्दिर भत्किएपछि मन्दिर पुनर्निर्माणमा सहयोग गर्न श्रीलंकाली सरकारले इच्छा देखायो। सरकारले पनि मन्दिर पुनर्निर्माणमा सहयोगी हातहरुको स्वागत गर्यो र मन्दिर ठेकेदार मार्फत बनाउन लगाउने निर्माण गर्दै टेन्डर आह्वान गर्यो। करिब ५ करोडको लागतमा पुरातत्व विभागमार्फत ठेक्का प्रक्रिया अघि बढ्यो। तीन कम्पनीले (प्रेरा, थेगिम, तुलसी जेभी धनगढी) संयुक्त रूपमा रूपमा ठेक्का पाए। तर, दुई वर्षमा मन्दिर पुनर्निर्माण गर्ने भनिए पनि ठेकेदारहरुले काम फत्ते गर्न सकेनन्।
ठेकेदारले मन्दिरको जगमा पुराना प्रकारका इँटा (मा अप्पा, दाँची अप्पा) को प्रयोग नगरी तराईबाट इँटा ल्याएर पुनर्निमाणको काम अघि बढाएपछि स्थानीयहरू सशंकित भए। मन्दिर भित्रको ‘स्पेस’ पनि ठेकेदारले पहिलाभन्दा सानो बनाएका थिए। त्यसपछि ठेकेदारको लापरबाही गरेको भन्दै मन्दिर पुनर्निर्माणको काम रोकियो। श्रीलंका सरकारले पनि पुनर्निर्माणबाट हात झिक्यो। स्थानीयले ठेकेदारमार्फत् काम गराउन नहुने अडान लिए। पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समवन्यमा पुरातत्व विभाग अन्गर्त उपभोक्ता समिति गठन भयो। कोरोना महामारीबीच लकडाउन र निषेधाज्ञाको समयमा समेत समितिले काम अघि बढाएको थियो।
पानेजु मदन शाक्य भन्छन्, ‘ठेकेदारको लापरबाहीले मन्दिर बन्न सकेन। काठको काम राम्ररी गरेन। मन्दिरको भित्री भाग पहिलाको भन्दा साँघुरो बनायो। ठेकेदारलाई पहिला जस्तो बनाउँ भन्यो भने स्थानीयले काममा अवरोध गर्यो भनेर भने। त्यसैले काम रोकिएको थियो।’
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन सरकारले सम्पदा पुनर्निमार्णमा ठेकेदारलाई घुसाउँदा सम्पदा पुनर्निर्माणको काम अन्यौलमा परेको बताए। त्यसैले रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि उपभोक्ता समिति मार्फत बनाउने पहल भएको उनले बताए।
‘पाटनमा सम्पदा पुनर्निर्माणमा ठेकेदारलाई काम दिँदै नभएका उदाहरण धेरै छन्। त्यसैले हामीले उपभोक्ता समितिमार्फत काम गरायौं। सम्पदा पुनर्निर्माणमा स्थानीयलाई सहभागी गराउँदै उपभोक्ता समितिबाट काम गराउनु बाहेकको विकल्प छैन। ठेकेदार त आउँछ जान्छन्,’ उनले भने।
अहिले मन्दिर पुनर्निर्माणको काम धमाधम भइरहेको छ। कालिगढहरु काठको काममा व्यस्त देखिन्छन्। केही स्थानीय कालिगढले नि:शुल्क रुपमा काम गरे। स्थानीयले ढुंगा उठाउने, काठलाई निश्चित ठाउँमा राख्ने लगायतका काममा सहयोग गरे। समितिले ठेकेदारले बनाएको जगबाहेक माथि बनाइएका सबै संरचना भत्काएर बनाएको हो।
पुनर्निर्माणको काम त सुरु भयो तर पुरातत्व विभागले निश्चित गरेको बजेटले पुनर्निर्माणको काम पूरा हुन नसक्ने अवस्था आउनसक्ने समिति अध्यक्ष शाक्य बताउँछन्। त्यसैले काम हरेर रकम बढाउन आफूले माग गरेको उनले बताए।
२०७८ असार मसान्तसम्म पुनर्निर्माणको काम सकाउने लक्ष्य छ। कोरोनाका कारण केही समय बढ्नसक्ने पनि निश्चित छ। अर्को वर्ष सकेसम्म रातो मछिन्द्रनाथलाई अस्थायी टहरामा बनाइएको मन्दिरमा नभइ पुनर्निर्मित मन्दिरमा नै राख्ने योजना रहेको समिति अध्यक्ष शाक्य बताउँछन्।