PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

ओखलढुंगामा २९ बाँदरको पोखरीमा डुबेर मृत्यु, किन दोहोरिन्छन् यस्ता घटना?



पहिलोपोस्ट

ओखलढुंगामा २९ बाँदरको पोखरीमा डुबेर मृत्यु, किन दोहोरिन्छन् यस्ता घटना?
फोटो : पुरुषोत्तम दाहाल

  • विश्वनाथ रिजाल-

असोज २९ गते बिहीवार ओखलढुंगामा २२ वटा बाँदर एकैपटक मृत अवस्थामा फेला परे। मानव बस्तीबाट १ किलोमिटर भन्दा कमको दुरी र डिभिजन वन कार्यालय ओखलढुङ्गाबाट १२ किलोमिटरको दुरी रहेको सिद्धिचरण नगरपालिका – ‍५, सानिटारमा २२ वटा बाँदर डुबेर मरेको घटनाका बारेमा सामाजिक संजालमा सकारात्मक र नकारात्मक दुवै मिश्रित प्रतिक्रियाहरु आइरहेका छन्। कसैले बाँदर पानीमा आफै डुबेर मर्दैन त्यो आत्महत्या हो भने त कसैले एकै पटकमा कसरी मर्न सक्छन्, मारेकै हो भने। कतिले चाहिँ बाँदरलाई पानी खाने वातावरण बनाइदिनुपर्ने राय समेत व्यक्त गरे।

सोही दिन स्थानीयले कम्मरभन्दा अलि कम आउने सो पोखरीमा १२ वटा बाँदरलाई बाँस तेर्स्याएर उद्धार गरे भने मृत्यु भएका २२ वटा बाँदरलाई पोखरीबाहिर निकालेको वार्ड नम्बर  ५ का अध्यक्ष कूलप्रसाद दाहालले बताएका छन्।

असोज ३० गते शुक्रबार पोखरीको पानी पूर्व अवस्थामानै थियो। बाँदरको संरक्षणमा जुटिरहेको मलाई यस घटनाले तान्यो। वडा अध्यक्ष दाहाल र स्थानीय युवाहरुसँग मैले सम्पर्क गरेँ। वडाध्यक्षले आफू निर्वाचित भएर आउनु १ वर्ष अगाडि देखि नै पोखरी निर्माण भएको भन्दै सो सिमेन्टेड पोखरी अवैज्ञानिक तरिकाले बनाइएको बताए। सोही कारण अहिलेको दु:खद् घटना घट्न गएको स्वीकार गरे।

'अरु दिन पनि सो पोखरीमा पानीको सतह पोखरीको डिलकै तहमा हुन्थ्यो। बाँदरहरु आइरहन्थे र सजिलै पानी खाएर फर्किने गर्दथे,' वडाध्यक्ष दाहालले भने, 'घटना घटेको बेला पोखरीको पानीको सतह जमिनबाट ३ फिट माथि थियो जुन मृत्युको कारण बन्यो।'

दुर्घटना न्युनीकरण गर्न पोखरीको भित्तामा भर्‍याङ जस्तो बनाउने विषयमा सल्लाह पनि हुँदै थियो। वडामा बजेट नभएको र डिभिजन वन कार्यालयले पनि बजेट दिन नसक्ने भनेपछि बन्न सकेको थिएन।

२२ वटा बाँदर पोखरीमा डुबेर मरेपछि वडा अध्यक्ष दाहाललाई मेरो आग्रह थियो- 'पोखरीमा भर्‍याङ बनाउनुस् खर्च म जुटाइदिउँला।' उनले स्थानीयसँग सहयोग जुटाएर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।

कार्तिक १ गते, शनिवार ११ बजे पुनः सोही पोखरीमा ७ वटा बाँदर त्यसरी नै डुबे। डिभिजन वन कार्यालय प्रतिनिधिसहित मुचुल्का उठाएर बाँदरलाई सोही ठाउँमा दफनाइयो।

शनिवारको घटनापछि भने पोखरीको पानी निकास गरी खाली गरिएको छ। भित्तामा भर्‍याङसमेन बताइएको छ। सिँचाईका लागि बनाइएको पोखरीमा तारवार थिएन्। भर्‍याङ पनि थिएन। बाँदर डुबेर मरेको पहिलो घटनापछि पानी खोलिदिएको भए पुन: सातवटा बाँदर मर्ने थिएनन्।

एक वर्ष अगाडि सिन्धुपाल्चोकमा यसरी नै ठाडो सिमेन्टेड पोखरीमा बाँदर डुबेर मृत्यु भएको थियो। त्यतिबेला म सोही ठाउँमा दुई दिनसम्म बसेर घटनाको अध्ययन गरेको थिएँ। सिन्धुपाल्चोक घटना र यो घटना समान हुन्।

अवैज्ञानिक रुपले निर्माण गरिने यस्ता सिंचाई पोखरीहरुले वन्यजन्तुलाई जोखिममा पारेको छ। वन्यजन्तु प्रतिको अवहेलना, जंगलको विनास, प्राकृतिक पोखरी एवं दह आदिको विनास मानवीय चेतनाको कमीका कारण आज हामी यस्ता घटनाको साक्षी बनिरहेका छौं।

विकासका नाममा गरिने यस्ता कार्यमा संरक्षणकर्मीसँग सहकार्य हुन नसक्दा एवं वन्यजन्तु मैत्री निर्माण नहुँदा यस्ता घटना निम्तिँदै गएको डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठ बताउँछन्।

अहिले पोखरीमा बाँदर डुबेर मरे। त्यहीँ खेल्दै जाने क्रममा बालबालिकाहरु पसे भने अर्को मानवीय दुर्घटना नहोला भन्न सकिँदैन। अर्कातर्फ अन्य वन्यजन्तुले पानी खान जाँदा बाँदर जसरी नै नमर्लान भन्न सकिँदैन।

यसरी विकास निर्माण गर्ने क्रममा विकास नै पासो त बन्दैनन् भन्नेत तर्फ सजग हुनुपर्ने आवश्यकता देखिन्छ। अर्कातिर प्रकृतिक सुन्दर ठाउँ ओखलढुङ्गामा झन्डै ८५ बर्ष अगाडि सिद्धिचरण श्रेष्ठले रच्नुभएको-

तिम्रै सुन्दर हरियालीमा

तिम्रै शीतल वक्षःस्थलमा

यो कविको शैशवकाल बित्यो,

हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो

मेरो प्यारो ओखलढुंगा !

कविताले कतै आजका हामी मानवलाई गिज्याइरहेको त छैन  बेलैमा सोचौँ। 

एकै छिन् बाँदरहरु आनीबानि बारे पनि बुझौँ

सिन्धुपाल्चोकमा भएको घटनापछि अध्ययनका लागि पुगेका लेखक।

विकास क्रममा मानवसँग नजिकको नाता रहेका यी बाँदर जाति को धेरै गुण मानवसँग मिल्दो जुल्दो हुन्छ।

बाँदर जातिमा सिक्ने (Learning) र अनुभुती (Cognitive) गुण हुन्छ। पोखरीमा एक अर्का गर्दै हाम फालेको  प्रयास नै “परिक्षण र त्रुटि” (trial and error)को अभ्यास गरेको  देखिन्छ।

डुबेका बाँदरलाई उद्धार गर्न हाम फालेर सहयोग माग गरेको कुरा बाँदरमा अनुभुती (Cognitive) गुण हुन्छ भन्ने प्रष्ट देखिन्छ। 

यस्तै “परिक्षण र त्रुटि” कै रुपमा वा गर्मी भएको कारण पोखरीमा पौडिन गरेको प्रयास व्यर्थ बन्यो र पौडिन दक्ष गुण भए पनि ति राता बाँदरलाई पोखरीको  पानीको सतह भन्दा  ३ फिट जति माथि ठाडो सिमेन्टको सतह उक्लन गाह्रो भयो। र, धेरै समय पौडिँदा उक्लने प्रयास पनि असफल भयो। उनीहरुको थकानको कारण मृत्यु भएको देखिन्छ। हुन त  पानीको सतहबाट ५ इन्च माथि चट्टानी, जमीन हुने जापानका तलाउहरुमा बाँदरले  सजिलै हामफालेर पौडेको दृश्यले पर्यटकहरु तान्न सकेको छ नै।

गाउँलेहरुका अनुसार कुनै बाँदर प्रायजसो उक्त पोखरी नजिक आउने गर्दथ्यो। अर्कोतिर तिर्खाएर पानी खान वा  पौडी खेल्न पनि पोखरी मा गएको हुनुपर्छ किनभने यी बाँदर  पानीसँग रमाउने  प्रकृतिका हुन्छन्।  बाँदरमा स्वभावत नक्कल गर्ने र सिक्ने गुण हुन्छ र गर्मी भएको कारण “परिक्षण र त्रुटि” (trial and error) को रुपमा कुनै बाँदरले हाम फालेको हुनसक्छ वा बाँदरको बगाल सो क्षेत्र हुँदै आउदा सानो बच्चा अनियन्त्रित भई खसेको वा सानो बच्चाले पोखरीमा छायाँ देखेपछि भ्रममा परी आफ्नो साथीसँग खेल्ने निहुमा पोखरीमा हाम फालेको हुन सक्दछ।

वयस्क बाँदरले पोखरी, तलाउ वा ऐनामा आफ्नो छायाँ हो भन्ने थाहा पाइसकेको हुन्छ। तर, सानो बच्चाहरुले सो जानकारी पाइनसकेको हुँदा  नक्कल गर्ने र सिक्ने गुणले गर्दा अनेक उपद्रो गरी रहेको पाइन्छ। कहिले काही बाँदरको सानो बच्चाहरुले मैथुन कार्य गरेको दृश्य देख्न सकिन्छ जवकि त्यो उनिहरुले नक्कल गरेर खेलेको मात्र हो।

कुनै बाँदर पोखरीमा फसेपछि गुहार माग्न थाल्यो र ती बाँदरमा परोपकारी गुण भएकोले एकले अर्कोलाई सहयोग गर्ने निहुँमा त्यतिका संख्याका बाँदर फसेका हुन सक्दछन्। संसारमा भएका विभिन्न प्रजातिका बाँदरमध्ये अफ्रिकाको रैथाने बाँदर भरभेटले आफ्नो समूहमा खतरा महसुस गर्‍यो भने समूहको कुनै एकले कराएर अरुलाई खतराबाट जोगिन सचेत गराउँदछ। र,  आफू स्वम् जोखिममा पर्दछ जसलाई एलट्रुजम (Altruism) भनिन्छ।

(लेखक प्राणीशास्त्र अध्यापन एवं वन्यजन्तु संरक्षणका अभियन्ता हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell