PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आफ्नै नीति तथा कार्यक्रम विपरित सरकारको यात्रा: संक्रमित एक लाख ३० हजार पुग्न लाग्दा सरकारलाई मोतियाबिन्दु लागेको हो?



विधुर ढकाल

आफ्नै नीति तथा कार्यक्रम विपरित सरकारको यात्रा: संक्रमित एक लाख ३० हजार पुग्न लाग्दा सरकारलाई मोतियाबिन्दु लागेको हो?

काठमाडौं : गत जेठमा सरकारको नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घोष गरिन्- 'रोगको सङ्क्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं। सङ्क्रमण थप फैलन नदिन र यस महामारीमाथि विजय प्राप्त गर्न आगामी दिनमा अझ बढी सतर्कता, समन्वय र एकता आवश्यक भएकोले एकढिक्का भएर दृढताका साथ लाग्न म सबैमा आह्वान गर्दछु।'

उनले आह्वान गरेको चार महिना बितिसक्यो। संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगिसकेको छ। ७२७ जना संक्रमितको मृत्यु भइसकेको छ। नीति तथा कार्यक्रमको ३७ औं बुँदामा राष्ट्रपति भण्डारीले नेपाललाई कोभिड-१९ मुक्त बनाउनु यस सरकारको पहिलो प्राथमिकता रहेको घोषणा गर्दै अगाडि भनेकी थिइन्- 'सरकारले महामारीको रोकथामका लागि अपनाउनुपर्ने स्वास्थ्य सजगताका व्यवस्थाहरूको पालना गर्ने गराउनेछ; सङ्क्रमणको परीक्षणलाई व्यापक बनाउनेछ;औषधी, उपकरण र चिकित्सकलगायतका स्वास्थ्यकर्मीहरूको पर्याप्त व्यवस्था तथा परिचालन गर्नेछ। यस महामारीबाट नेपालभित्र कुनै पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको छ।'

यो चार महिनामा सरकारले आफ्नै नीति तथा कार्यक्रम एकातिर पञ्छाउँदै अर्कोतिर लम्किँदै छ। परीक्षणलाई ब्यापक बनाउने घोषणा गरेको सरकारले परीक्षणलाई साँघुरो बनाउँदै लैजाने निर्णय गरिसकेको परीक्षण निर्देशिका बनाएर। परीक्षणमा ब्यापार बढ्दै ग एको छ। त्यस्तै औषधी, उपकरण र चिकित्सक लगायतका स्वास्थ्यकर्मीको पर्याप्त ब्यवस्था र परिचालन गर्ने घोषणा गरेको सरकारले 'बेहोस नभइ' अस्पताल नआउनु भनिसकेको छ।

 

नेपालमा कोरोना भाइरस नियन्त्रण गर्ने सम्भावना बाँकी थियो। संक्रमण देखिएको थिएन्। स्वास्थ्यमन्त्रीलाई संसदमा सांसदहरुले तयारी के गर्दै छ भनेर प्रश्न गरेका थिए।

नेपालमा संक्रमण नभएको जतिपटक परीक्षण गर्दा पनि नदेखिएको भन्दै 'चीन र भारतकै तालमा नेपालले खुट्टा उचाल्दैन्' भन्ने जवाफ फर्काएका थिए। परीक्षणको दायारा बढाउन माग गर्दै आन्दोलन भयो।

परीक्षणको क्षमता २५ माथि भन्ने घोषणा गरे पनि अहिलेसम्म २० हजार बढी हुन सकेको छैन। साथै थप साँघुरो बनाउँदै लगिएको छ।

तातोपानी र बेसार पानी खाएर हाछ्युसाछ्युँ गरेर कोरोना उडाउने भन्दै आएका थिए प्रधानमन्त्री केपी शर्मा ओली। कोरोना भाइरसले कोही पनि मरेका छैनन् अरु रोगले मरेका हुन् भनेर संसदमै भनेका थिए। अहिले प्रधानमन्त्री मौन छन्।

अर्को तर्फ स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणमा सरकारले गरेको काम नदेख्नेलाई मोतिया बिन्दु लागेको भन्दै त्यस्तो मानसिकता त्याग्न सुझाब दिएका थिए।

यतिबेला संक्रमितको संख्या एक लाख ३० हजार पुग्दै गर्दा संक्रमितलाई अस्पतालको बेड अभाव छ। आइसोलेसनको ब्यवस्था नहुँदा संक्रमितहरु बाहिर छन्। कोरोना भाइरस नियन्त्रणको तयारी बारे प्रश्न गर्ने सर्वसाधरलाई मोतियाविन्दु लागेको देख्ने सरकार यतिबेला आफै मोतिया बिन्दु लागे जस्तै छ।

मन्त्री मौन छन् प्रधानमन्त्री मौन छन्। कोभिड-१९ को संक्रमण बढ्दै छ। जनता सडकमा छन्। बाध्यताले भोकभोकै संक्रमित सडकमै भेटिन्छन्। परीक्षणका लागि दिनरात लाममा बस्दैछन् जनता तर सरकार अझै देख्दैन जनताको पीडा?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell