PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भूईं मान्छेको भोगाइ असीम सागरको ‘क’मा (कृति सार्वजनिक)



पहिलोपोस्ट

भूईं मान्छेको भोगाइ असीम सागरको ‘क’मा (कृति सार्वजनिक)

काठमाडौं : कवि असीम सागरको नयाँ कविता कृति सार्वजनिक भएको छ। पुस्तक ‘क’ औपचारिक कार्यक्रमबिना लोकार्पण गरिएको हो।

असीम सागर साधारण नेपाली जनताका कवि रहेको पत्रकार एवम् कवि रूपेश श्रेष्ठले बताए। उनका कविताले सडकका नागरिकको कथा भन्ने उनको भनाइ छ। ‘देखेर र भोगेर कविता लेख्नुमा ठूलो अन्तर हुन्छ। असीम सागरको कविता संग्रह ‘क’ मा भोगेर लेखेका कविता छन्,’ उनले भने, ‘सरल भाषामा यति ओजपूर्ण कविता लेख्न सकिन्छ, त्यो पनि सुन्दर कविता लेख्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्।’

सरल एवम् सरस किसिमका कविता लेख्ने सागरको यो कृतिमा सामान्यभन्दा सामान्य जनका दुःख, पीडा अनि समाजमा व्याप्त बेथिति एवं विसंगतिलाई घतलाग्दो किसिमले प्रस्तुत गरिएको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीको भनाइ छ।

जीवनमा आइपरेका घटना र विभिन्न अनुभवबाट निःसृत भावलाई नै कविताका रुपमा प्रस्तुत गरेको र यो पुस्तक जन्मिएको लेखक असीम सागरले बताए। उनले भने, ‘जीवन बाँच्दै जाँदा कैयौं पटक चोइटिएको छु। भाँच्चिएको छु। दुखेको छु,’ उनले भने, ‘तिनै दुखाइ र असन्तुष्टि नै मेरा कविताका अंश हुन्। जसलाई मैले आफ्नै आँसुको मसीले लेखेको छु।’

यसरी आफू जस्तै दुखेका हजारौं मानिसका साझा सन्तुष्टि र दुखाइ नै यो कविताकृति ‘क’ रहेको उनले बताए। ‘यही ‘क’माथि सत्ताको आँखा र ध्यान जाओस्, बस्, मलाई यत्ति भए पुग्छ,’ उनले भने। 

आम मानिसका भोगाइ एवम् जीवनबारे कविता लेख्न रूचाउने कवि असीम सागर नेपाली कविताको क्षेत्रमा परिचित नाम हो। जून पोखिएको रात र अस्तित्वका आवाजहरु (गजलसङ्ग्रह) प्रकाशन गरिसकेका उनले खडानन्द मनमाया स्मृति पुरस्कार, जोगमाया चापागाईं गजल पुरस्कार, भावतरङ्ग साहित्य सम्मान (सिक्किम), बसिबियाँलो साहित्य सम्मान (कालेबुङ) जस्ता पुरस्कार एवम् सम्मान पाएका छन्। उनी राष्ट्रिय कविता प्रतियोगिताका विजेतासमेत हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell