६५ वर्षीय महावीर पुन सानै थिए। त्यस समय हरेक वर्ष उनको जीवनमा बहार आउथ्यो। नयाँ लुगाको बास्नासँगै। त्यो दिन दशैं वा चाडपर्व विशेष भने हुँदैनथ्यो। किनकि नयाँ कपडा किन्न बजार धाउनु पर्थ्यो। बजार अर्थात् पोखरा। गाडी नचल्ने त्यस समयमा उनको गाउँ म्याग्दीको नागीबाट पोखरा पुग्न पैदल तीन दिन लाग्थ्यो।
त्यसैले उनका बुवा पेनसन झिक्न पोखरा पुगेको मौकामा सन्तानका लागि नयाँ लुगा किनिदिन्थे।
आइतवार नयाँ सुट, पाइन्ट र सर्ट हातमा पर्दा महावीर पुनले ती दिन सम्झिए। बुवाले झोलाभरी सरसामानको बीचमा मिठाइ र नयाँ लुगा ल्याइदिने गरेको समयमा पुगे उनी।
‘नोस्टाल्जिक भइयो। दशैंको लुगा पाएझै लाग्यो’, उनले भने। कहाँबाट कसले दियो खुलाउन चाहेनन्। तर, त्यो खुशी फेसबुकमार्फत् साटे। फोटोसहित। जसमा उनी नयाँ सुट, पाइन्टमा ठाँटिएका छन्। त्यो सुट उनको जीवनको दोस्रो सुट हो। यसअघि अमेरिका पढ्का लागि जाँदा उनले पहिलो पटक सुट लगाएका थिए।
पोस्टमा यी वैज्ञानिक डाक्टरले आफूले ४५ वर्षपछिको दशैंमा नयाँ लुगा पाएको जनाएका छन्। लेखेका छन्,’यो कपडा मलाई नै नापेर सिलाइ दिएका हुन्। पूरानो जडौरी होइन।‘
लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई 🤣🤣 --- सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला |...
Posted by Mahabir Pun on Sunday, October 18, 2020
सधैं आफूलाई चिटिक्क परेर नहिँडेको गुनासो पोख्ने साथीहरूका लागि नयाँ लुगासहितको फोटो ‘सर्पाइज’ भएको बताए।
उनले दशैंको समयमा ‘नयाँ लुगा’ भन्दै पोस्ट सेयर गरेपनि पर्व विशेष कुनै योजना छैन उनको। कोभिड-१९ नियन्त्रणका लागि नयाँ नयाँ आविष्कार र उत्पादनमा व्यस्त छन् उनी।
अघिल्ला वर्षहरूमा उनी चितवन जान्थे। त्यहाँ उनका भाइहरूको परिवार छन्। टिका लगाउथे। आशिर्वाद दिन्थे। यो वर्ष भने आशिर्वादभन्दा महत्वपूर्ण – सुरक्षा सामाग्री एवं स्वास्थ्य सेवासँग जोडिएका उपकरणहरू बनाउनु भएको उनको विचार छ। त्यसैले उनकै नेतृत्वमा स्थापित राष्ट्रिय आविष्कार केन्द्र दशैंको समयमा पनि खुला रहनेछ।
हाल केन्द्रले स्वास्थ्यकर्मी एवं अन्य फ्रन्टलाइनरहरूलाई पीपीई, फेससिल्ड, आइसियूमा खट्ने स्वास्थ्यकर्मीका लागि पावर्ड एयर प्युरिफाइङ रेस्पिरेटर (पापर मास्क) उपलब्ध गराउँदै छन्। त्यस्तै भेन्टिलेटरमा राखिएको कोरोना संक्रमितका लागि आइसोलेसन हुड, संक्रमितलाई स्वास प्रस्वासमा समस्या देखिएको खण्डमा प्रयोग गरिने कन्टिनियस पोजेटिभ एयरवे प्रेसर थेरापी (सीपीएपी) वा बाइलेभल पोजेटिभ एयरवे प्रेसर (बिप्याप) मेसिन २५ थान पनि केन्द्रबाट उपलब्ध गराउन सक्ने बताए। कोरोना भाइरस संक्रमितको मृत्यु भएमा शव राख्ने ब्याग समेत उपलब्ध भएको जानकारी दिए।
भने,’मान्छे रहे न पर्व पनि सुखद् हुन्छ। त्यसैले यो वर्ष आविष्कार केन्द्र दशैंभर पनि चौबिसै घण्टा खुला राख्ने घोषणा गरिसकेका छौं।‘
केन्द्रले नेपालमा संक्रमण दर बढ्नुअघि नै सिल्ड पीपीइ उत्पादन सुरु गरेको थियो। महामारी फैलिएसँगै सहयोग दिन र लिनका लागि सामाजिक सञ्जालमा सक्रिय छन् महावीर पुन। त्यस्तै बिच केही शुभचिन्तकहरूले उनलाई आफ्नो लुगा लगाउने तरिकामा पनि ध्यान दिन आग्रह गरेका थिए। जवाफमा पुनले लेखेका थिए – यो वर्ष दशैंमा नयाँ लुगा आउँछ। लगाउने हो।
