PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोरोनाको उपचार जनता आफैँले गर्नुपर्ने, जनप्रतिनिधिलाई भने दशैं भत्ता? यी सांसदले गरे फिर्ता



कुञ्जरमणि भट्टराई

कोरोनाको उपचार जनता आफैँले गर्नुपर्ने, जनप्रतिनिधिलाई भने दशैं भत्ता? यी सांसदले गरे फिर्ता

काठमाडौं : कोरोना महामारीका बेलामा पनि जनप्रतिनिधिहरुले दशैं भत्ता बुझेको भन्दै आलोचना हुन थालेपछि संघीय संसदका सांसदहरुले भत्ता फिर्ता गर्न थालेका छन्। सरकारले कोरोनाको उपचार नागरिक आफैँले गर्नुपर्ने नियम ल्याएको र भत्ता पनि बाँडेको भन्दै विरोध भइरहेको छ। यसबीच केही सांसदहरुले परिस्थिति प्रतिकूल भएको भन्दै भत्ता नलिने घोषणा गरेका हुन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावल, प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापा, सांसद सूर्य पाठकले दशैं भत्ता वापतको रकम फिर्ता गर्न संसद् सचिवालयलाई आइतबार पत्र पठाएका छन्।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार अध्यक्ष तिमिल्सिना र सांसद थापाले रकमसमेत फिर्ता गरेका छन्। रकम फिर्ताको पत्र पठाएका सांसदहरुको भत्ता आगामी तलबबाट कटौती गरिने पाण्डेले बताए।

सचिवालयले केही दिनअघि सांसदहरुले खाइपाइ आएको तलबमा दशैं भत्ता बापत् एक महिनाको रकम थपेर पठाएको थियो। यस विषयमा सर्वत्र टिकाटिप्पणी भइरहेको छ।

सांसद भीम रावलले आइतबार ट्वीटमार्फत फिर्ता गर्न आग्रह गरेका थिए। पछि उनले अर्को महिनाको पारिश्रमिकबाट रकम कटौती हुने जानकारी पाएको बताएका थिए।  

यता नेकपा सांसद जनार्दन शर्माले भने उक्त रकमबाट भेटिन्लेटर खरिद गर्न अनुरोध गरेका छन्। उनले आइतबार ट्वीटमार्फत् आफूले पाएको रकम पूर्व जनमुक्ति सेनालाई दिने घोषणा समेत गरेका छन्। उनले उक्त रकम कालिकोटका नरेन्द्रबहादुर बोहोरालाई दिने बताएका छन्।

‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो। यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं’, शर्माले भनेका छन्, ‘दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।’

उता, नेकपाका अर्का सांसद देवेन्द्र पौडेलले भत्ता बापत् पाएको रकम बाढी पीडितलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन्।

उनले फेसबुकमा लेखेका लेखेका छन्, ‘मलाई दशैं भत्ता स्वरुप आएको रकम भुजीखोला बाढी पीडितलाई हस्तान्तरण गर्नेछु।’

नेकपाका प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भने यसअघि नै तलब भत्ता नलिने घोषणा गरिसकेका छन्।

यस्तै, नेपाली कांग्रेसका सांसद बालकृष्ण खाणले पनि रकम फिर्ता गर्न माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell