PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

विपद्जन्य घटनामा परी वैशाखयता साढे चार सयको मृत्यु, सात सय बढी घाइते 



रासस

विपद्जन्य घटनामा परी वैशाखयता साढे चार सयको मृत्यु, सात सय बढी घाइते 

काठमाडौं : गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर चार सय ४४ जनाको मृत्यु भएको छ।

उक्त अवधिमा एक सय एक जना बेपत्ता भएका छन् भने सात सय ३९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठूलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार सात सय ५५ चौपाय मरेको र झण्डै ८२ करोड रुपैयाँ बराबरको क्षति भएको जनाए।

प्राधिकरणले आइतवार सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै दुई सय ९५ को मृत्यु, ६४ बेपत्ता र दुई सय २३ घाइते भएका छन्। पहिरोले चार सय ३५ जना पशुचौपाय क्षति भएको छ। पहिरोबाट अनुमानित पाँच करोड ९ लाख रुपैयाँको क्षति भएको छ।

त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ। चट्याङ्बाट ६५ जनाको मृत्यु तथा दुई सय १३ घाइते भएका छन भने छ सय ९६ चौपाय मरेका छन्। चट्याङले ५९ लाख रुपैयाँ भौतिक क्षति भएको विवरणमा उल्लेख छ।

यसैगरी, बाढीबाट ४२ जनाको मृत्यु, ३७ बेपत्ता र ११ जना घाइते भएका छन्। बाढीमा परेर २७२ पशु चौपाय मरेको र झण्डै पाँच करोड रुपैयाँको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ।

आगलागीमा परेर १० जनाको मृत्यु, एक सय ४४ घाइते र ६० करोड भन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको छ। सर्पदंसबाट २१ जनाको मृत्यु, ३६ घाइते र जनावरको आक्रमणबाट ११ जनाको मृत्यु तथा एक सय १२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell