इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले मुम्बईलाई दोस्रो सुपर ओभरमा हराएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
मुम्बईका लागि क्विन्टन डिककले सर्वाधिक ५३ रन जोड्दा क्रुनाल पाण्ड्याले ३४ रन बनाए। त्यस्तै, काइरोन पोलार्डले ३४, नाथान कोल्टर नाइलले २४ रन तथा कप्तान रोहित शर्माले ९ र इसान किशानले ७ रन जोडे।
पञ्जाबका लागि मोहम्मद शामी र अर्शदीप सिंहले २/२ विकेट लिँदा रवि बिश्नोई र क्रिस जोर्डनले १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन नै बनायो। खेल ड्र भएपछि सुपर ओभरमा गएको थियो।
पञ्जाबका लागि कप्तान केएल राहुलले अर्धशतकीय पारी खेले। उनले ५१ बल खेल्दै ३ छक्का र ७ चौकाको मद्दतले ७७ रनको योगदान गरे। त्यस्तै, क्रिस गेल र निकोलस पुरनले २४/२४ जोडे भने दीपक हूडाले २३, क्रिस जोर्डनले १३ रन तथा मयंक अग्रवालले ११ रन बनाए।
मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा राहुल चहरले २ विकेट लिए
पहिलो सुपर ओभरमा पञ्जाबले ६ रनको लक्ष्य दिएको थियो। जसमा केएल राहुलले ४ रन जोडे भने दीपक हूडाले १ रन। जवाफमा मुम्बईले पनि पाँच रन मात्रै बनाउन सक्यो। जसमा कप्तान रोहित शर्माले २ रन बनाए भने क्विन्टन डिककले ३ रन बनाए।
बराबरीपछिको दोस्रो सुपर ओभरमा मुम्बईले १२ रनको लक्ष्य दियो। जसमा काइरोन पोलार्डले ८ तथा हार्दिक पाण्ड्याले १ रन जोडे। जवाफमा पञ्जाबले ४ बलमा लक्ष्य पूरा गर्यो। जसमा क्रिस गेल ७ रन बनाउँदा मयंक अग्रवालले २ चौका प्रहार गरे।
