PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फेरि देउवालाई नै नेतृत्व सुम्पे काँग्रेस इतिहासको पानामा सीमित हुन्छ : बलबहादुर केसी



नेत्र तामाङ

फेरि देउवालाई नै नेतृत्व सुम्पे काँग्रेस इतिहासको पानामा सीमित हुन्छ : बलबहादुर केसी

कोरोना महामारीका कारण नेपाली काँग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको छ। आउँदो फागुन ७ देखि हुने भनिएको महाधिवेशनको कार्यातालिकाको औपचारिक शुरुवात कातिक १६ बाट हुन्छ। तर त्यसका लागि क्रियाशील सदस्यता वितरण र समायोजन प्रक्रिया नै टुंगो लगाएको छैन।

गत निर्वाचनमा नराम्ररी हारेको काँग्रेस यसपटकको महाधिवेशनमार्फत पुनर्जागरणमा जाने भनिए पनि नेताहरुमा जोश जाँगर देखिँदैन। सभापति शेरबहादुर देउवाकै कारण यो अवस्था आएको उनीइतरका नेताहरुको आरोप लगाउँदै आएका छन्। सभापति देउवा भने आफूलाई काम गर्न नदिएको दोष लगाउँदै आएका छन्। सभापति देउवाकै कारण पार्टी नाजुक अवस्थामा पुगेको भन्दै गत असोज १२ गते वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत २७ जना केन्द्रीय सदस्यहरुले ९ पृष्ठको पत्र एक हप्ते अल्टिमेटमसहित बुझायो। तर, उक्त अल्टिमेटम डिसमिस भयो। यसै सन्दर्भमा उक्त अल्टिमेटम पत्रमा हस्ताक्षर गरेका नेता बलबहादुर केसीसँग पहिलोपोस्टका नेत्र तामाङले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना महामारी शुरु भएयता लकडाउन भयो, निषेधाज्ञा भयो, कस्तो रह्यो यो समय?

मेरो गाउँ सोलुखुम्बुको सल्यान हो। राजनीति लगायत विभिन्न कामले सबै परिवार काठमाडौं विस्थापित भएको थियौं। यसपटक गाउँ जान पाएँ। ६ महिनाजति बसेर खेती गरेँ। घर पनि बनाएको छु। अहिले केन्द्रीय समिति हुनुपर्छ भनेर काठमाडौं आएको हुँ।

तपाईँ त पर्यटन क्षेत्रमा नाम चिनिएको जिल्लाको नेता हुनुहुन्छ। कोरोनाले पर्यटनमा कतिको प्रभाव पारेको देख्नुभयो?

कोरोनाले पहिलो प्रभाव पारेको नै पर्यटन क्षेत्र हो। माउन्टेन र इक्पिडिसन बढी हुने खुम्बु क्षेत्र। अहिले शुन्यमा छ व्यवसाय। संक्रमणको हिसाबले धेरै सुरक्षित छ फेरि, सोलुखुम्बु। यहाँका बहुत कम मान्छेमात्र सोलुखुम्बु फर्के। ठूला शहर छैन। पर्यटन बन्द भइहाल्यो। संक्रमण भएन। आर्थिकमा सबैभन्दा बढी प्रभावित सोलु हो।

अब कसरी रिकभर होला यो क्षेत्र?

पर्यटन व्यवसायीप्रति सरकारको भिजन नै भएन। अब सुझाव नै दिनुपर्दा होटल व्यवसायदेखि टानसम्म बचाउन सरकारले योजना ल्याउनुपर्‍यो। यो सरकारीभन्दा पनि निजी क्षेत्रको प्रयासले मौलाएको पेशा हो। पर्यटनलाई उद्योगका रुपमा सरकारले स्वीकार्नुपर्‍यो। व्यवसायीका रुपमा मात्र हैन। सुविधायुक्त लोन दिएर हुन्छ कि कसरी हुन्छ, उकास्ने खालको कार्यक्रम ल्याउनुपर्‍यो।

सरकार भिजिट नेपालको तयारीमा थियो, प्राथमिकतामा परेन भनेर दाबी कसरी गर्नुहुन्छ?

सरकारको प्राथमिकतामा कहाँ परेको छ? माननीयलाई ८-१० करोड दिने। तर पर्यटन क्षेत्रमा खै त? अहिले स्वास्थ्यको कुरामा कसरी चुकेको छ सरकार? पीसीआर गर्न सकिरहेको छैन। बिरामीलाई अस्पतालमा बेड छैन। बेहोस नभई अस्पताल नआउ भनेर निर्देशन जारी गर्छ। यस्तो पनि सरकार हो?

प्रमुख प्रतिपक्ष पनि कतै देखिएन भनेर खोज्दैछन् नि जनता?

संसारको राजनीतिमा सत्ता पक्ष बलियो हुँदा प्रतिपक्ष कमजोर हुन्छ। सत्ता कमजोर हुँदा प्रतिपक्ष बलियो हुन्छ। तर, नेपालमा सत्ता र प्रतिपक्ष दुवै कमजोर देखियो। प्रतिपक्षलाई काम गर्ने अवसर थियो। जनतालाई आफ्नो पक्षमा ल्याउने अवसर थियो। त्यो अवसर काँग्रेसले गुमायो। त्यसैले कताकता यो व्यवस्थामाथि नै सिस्टममाथि नै प्रश्न खडा हुन थालेको छ।

सिस्टम भन्नाले?

गणतन्त्रको कुरा। संघीयताको कुरा। यसमै प्रश्न उठ्न थालेको छ। जनतामा उठ्न थालेको छ। यो कुरा बुद्धिजीवीले उठाउन थालेका छन्। यही कुरा मिडियामा आउन थालेको छ। केवल भ्रष्टाचार भाग अंश, केवल विधि र कानुनको खिलाफमा काम गर्ने। आर्थिक अनुशासन फिटिक्कै छैन। भ्रष्टाचारको मुहान सिंहदरबारभएर हुँदाहुँदा वडासम्म भ्रष्टाचार व्यापक भयो। त्यसको हिसाबै भएन।

यसको कारण के त?

जनताले दिएको म्यान्डेट अनुसार नेताहरु चल्न सकेनौं। जनताले स्थिर सरकार दिएकै हो। तर, विधिअनुसार चल्न सकेनौं। हिजो मुर्दावाद भन्न जान्यौं। तर, सत्ता जिन्दावाद भन्न जानेनौं।

अहिले ठूलो चुनौति छ। नेपालको राजनीति त्यति सजिलो देख्दिनँ। ठीक ढंगले चलेको छैन। जनता पनि खुशी नहुने। नेपाली जनताले चाहेको कुरा हामीले दिन सकेनौं।

हाम्रो पार्टीहरु आफै निर्णय गर्छ कि अरु कसैको निर्देशनमा निर्णय गरेर देश चलिरहेको छ? यसमा प्रश्न उठेको छ। संकटमा रहेको देश बचाउन जनता सडकमा नआइ काम छैन।

त्यही त काँग्रेस के हेरिरहेको छ यस्तो बेथिति हुँदा पनि?

प्रतिपक्षीको दुईटा प्लेटफर्म हुन्छ। एउटा सडक, अर्को सदन। सडकमा आउन कोरोनाले दिइरहेको छैन। सदन सरकारले बन्द गरिदिएको छ।

यसरी बन्द नहुँदा पनि काँग्रेसले राम्रोसँग पर्फरमेन्स गर्न सकेन।

सदन चल्दा पनि सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राम्रो हिसाबले बोल्नु भएन। अरु केही नेताले बोलेका छन्। तर, दलका नेताले बोलेको जस्तो वेट अरुमा हुँदैन। हामी सदनमा कमजोर भयौं। सडकमा कमजोर छैन

तर, बेलाबेला सभापतिले आन्दोलनका लागि तयार रहनुस् भनिरहनु भएकै छ त?

त्यो त पब्लिक कन्जुमका लागि भन्छन् नि। राजनेताहरुले त्यति भन्न जानेका हुन्छन्, पब्लिक खपतका लागि। साँच्चिकै गर्नुभए त सर्कुलर गरेर आन्दोलनको निर्णय गरे भै गयो नि।

किन यस्तो कन्जुस्याई भइरहेको छ काँग्रेसबाट त्यसो भए?

सत्तालाई नेतृत्व गर्ने र प्रतिपक्षीलाई नेतृत्व गर्ने एकै ठाउँमा उभिएका छन्। उनीहरुको स्वार्थ मिलेको छ। पब्लिकलाई सत्तापक्ष र प्रतिपक्ष भनेर देखाउँछन्। बाहिर अर्कै कुरा छ। भित्र एकै ठाउँमा उभिन्छन्।

यता सभापति देउवाले तपाईँहरुले काम गर्न दिएनन् भनिरहनुहुन्छ?

हामीले काम गर्न नदिएको हैन। नेपाली काँग्रेस विधानअनुसार चलेन। एउटा व्यक्ति काँग्रेस हुन सक्दैन। शेरबहादुरजी को जुन 'म नै काँग्रेस हुँ' भन्ने सोच छ। उहाँ सभापति हुन विधान चाहियो। सभापति भएपछि उहाँलाई विधान चाहिएन। त्यसैले काँग्रेस कमजोर बनाउन देउवाले खेलेको भूमिका सहितको बुँदा राखेर हामीले ज्ञापन बुझाएका छौं।

सात दिने अल्टिमेटम राखेर हैन त, खै त अल्टिमेटम त गुज्य्रो त?

हामीलाई पदाधिकारी र पूर्व पदाधिकार केही सिनियर नेताहरुलाई बोलाएर छलफल गर्‍यौं। केही केन्द्रीय समितिका सदस्यहरु र पार्टी कार्यालयको प्रशासनमा काम गर्ने साथीहरुलाई कोरोना देखिएकाले बैठक स्थगित भएको छ। अब दशैंपछि होला।

तपाईँ आफैलाई सभापति देउवाको मन नपरेको शैली चाहिँ के हो?

बहुमतको आधारमा निर्णय गरेर हिँड्नुभयो। कतिसम्म भने इतिहासमै पहिलोपटक बहुमत र अल्पमतमा गर्नुभयो। उहाँ अहिले पनि बहुमतको रटाईमा हुनुहुन्छ। विधान त महासमिति र महाविधेशन बनाउने हो हो। केन्द्रीय समितिले तलमाथि गर्न सक्दैन। तर, शेरबहादुरजी म नै काँग्रेस हो। म नै विधान हो। म नै महाधिवेशन हो भनेर काम गर्नुभएको छ। त्यसैले ७५ वर्षको इतिहासमा नेपाली काँग्रेस अहिलेसम्मकै कमजोर भएको हो।

आउँदो चुनावमा काँग्रेस पहिलो बनाउनुपर्छ भनेर सबै नेताहरु लागेका छन् नि। सम्भव देख्नुहुन्छ?

यही अवस्थामा रह्यो भने काँग्रेस पहिलो पार्टी हुँदैन।

कसरी हुन सक्ला त?

हाम्रो कहाँ कहाँ कमजोर भयो? काँग्रेसका नेताले कता कता गल्ती गरे? ती खोजेर हामीले यो यो काम गल्ती गर्‍यो भनेर जनतासँग माफी माग्नुपर्छ। अब गल्ती दोहोर्‍याउनु हुँदैन। व्यक्तिप्रधान नभएर नीति प्रधान भएर पार्टी चलाउनुपर्‍यो। जनताले पत्याउने र कार्यकर्ताले पत्याउने रोडम्याप बनाउनुपर्‍यो। यो करेक्सन गरेमा कहाँ कमजोर छ र काँग्रेस? काँग्रेसलाई कसले हराएको हो र? काँग्रेसलाई त काँग्रेसले नै हराएको हो नि।

काँग्रेसले आफूलाई करेक्सन गर्‍यो भने यो पहिलो पार्टी बन्छ।

महाधिवेशनले नेतृत्व तय गरेपछि नै निर्वाचन हुने होला। सभापतिमा कसको सम्भावना देख्नुहुन्छ?

नेता यहीँ भित्रबाट ल्याउने हो। हामी एकताका साथ जानुपर्‍यो। सुध्रिएनन् भने तिमीहरुबाट यो काँग्रेस चलेन। भनेर डायनमिक लिडर छान्नुपर्‍यो। त्यो पनि निकाल्न नसके पुस्ता हस्तान्तरण गर्नुपर्‍यो। विकल्प यहीँ भित्रबाट नै हुन्छ।

पुस्ता हस्तान्तरण कसरी सम्भव होला?

परिवारमा नेचुलेर प्रोसेस हुन्छ। अभिवावक वृद्ध हुँदै जान्छ। घरपरिवार व्यवसाय ट्रेन गराउँदै विस्तारै हस्तान्तरण हुन्छ। पार्टीभित्र खैलबैला मच्चाउन पुस्ता हस्तान्तरणको कुरा ल्याएको हो। मुलीले चलाउन नसके पो त हस्तान्तरण गर्ने। चलिरहेको बेलामा छोराहरु झगडा गरेर मलाई दे कि दे भने झन् बिग्रिन्छ।

युवापुस्ताबाट यो कुरा जोडतोडले उठिरहेकै छ नि?

यहाँ उमेरलाई बढी फोकस गरिएको छ। म च्यालेन्ज गर्छु ६८ वर्षको म १६ वर्षको र २५ वर्षको युवासँग हरेक कुरामा च्यालेन्ज गर्छु। विचार योगदानर सक्रियतामा च्यालेन्ज गर्छु। अनि मलाई बुढा भन्न पाइयो?

२५ वर्षे भन्ने अनि बेलुका बेलुका रोधीतिर गएर झुम्के बुलाकी... भनेर नाच्ने अनि हामी युवा पुस्ता भनेर हल्ला गरेर हुन्छ भन्या? पार्टीलाई सञ्चालन गर्ने कुरा चाहियो नि। जो क्रियाशील छ उसले नेतृत्व गर्छ नि यार।

महाधिवेशनमा तपाईँको तयारी के छ?

पहिले महाधिवेशन कहिले हुन्छ भनेर त मिति तय होस् अनि आफ्नो तयारी भनौला। जसजसले घोषणा गर्नुभएको छ उहाँहरुको भन्दा पार्टीमा योगदान दिएको हिसाबले म कुनै कमी छैन। कार्यकर्तासँग सल्लाह गरी अघि बढ्छु। समय आएपछि म घोषणा गर्छु।

तोकिएको समयमा महाधिवेशन हुँदैन त्यसो भए?

फागुनमा महाधिवेशन हुने देख्दिनँ। पहिलो त कोरोना नै भयो। सकेसम्म धकेल्ने पक्षमा हुनुहुन्छ देउवा। सेड्युल नै प्रभावित भइसक्यो। उहाँको पक्षमा नहुने जिल्लालाई रोकिराख्नु भएको छ समायोजन। समायोजन समितिले टुंगो लगाइसकेको पनि। विधि भन्दा पनि मनी, मसल र पावरले संगठनले क्याप्चर गर्ने तयारीमा हुनुहुन्छ देउवा। त्यसैले आफ्नो अनुकुलतामा धकेल्दै हुनुहुन्छ।

सभापतिमा तपाईँको समर्थन कसलाई रहन्छ?

अहिलेसम्म रामचन्द्र पौडेल हाम्रो नेता हुनुहुन्छ। नेचुरल सिनियर लिडर उहाँ र शेरबहादुरजी नै हो। पौडेलकै टिममा लडेर कोही महामन्त्री जित्यौ, कोही कोषाध्यक्ष जित्यौं। म केन्द्रीय सदस्यमा जितेँ।

तपाईँले अघि भन्नुभएको थियो - देउवा आउँदो महाधिवेशन पनि क्याप्चर गरेर अघि बढ्ने सोचमा छन्। यता इतरपक्षबाट सभापतिको दाबेदार नै आधा दर्जन पुग्न लागिसके त?

शेरबहादुरसँग व्यक्तिगत दुश्मनी होइन। काँग्रेस बचाउने अभियानमा शेरबहादुर हुँदैन भन्ने अनि पाँच जना भिडे त शेरबहादुर बलियो भइहाल्छ नि।

अनि काँग्रेस सिध्याउने हो भने शेरबहादुरलाई नेतृत्व सुम्पदा भयो। अब पनि शेरबहादुर आयो भने काँग्रेस सिद्धिन्छ। काँग्रेस इतिहासको पानामा सीमित हुन्छ।

उहाँलाई सम्मानमा राखेर। उहाँकै सहयोगमा एकता अघि बढे त राम्रो। भएन भने शेरबहादुरका कार्यशैलीका कारण काँग्रेस कमजोर भयो भन्ने लागेका साथीहरु एक भएर एकजनामात्र सभापतिमा उठ्नुको विकल्प छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell