काठमाडौं : अदालतले अपहरण मुद्दामा सजाय सुनाएका फरार एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) टोलीले झापा मेचीनगर नगरपालिका वडा नम्बर १२ बस्ने ३८ वर्षीय नरेश मेचेलाई नियन्त्रणमा लिएको हो। मेचेलाई प्रहरी टोलीले आइतवार नयाँ बसपार्कमा रहेको होटल काठमाडौंबाट समातेको व्यूरोका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
२०७१ माघ १८ गते झापाका सुनिलकुमार अग्रवाललाई हतियार देखार डर त्रासमा पारी एम्बुलेन्समा राखेर अपहरण गरेका थिए। त्यसपछि अग्रवाललाई झापाको धरमपुर २ स्थित हर्कबहादुर कन्दोको घरमा बन्धक बनाइ राखेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। माघ २३ गते अपहरणकारीबाट उद्धार गर्ने क्रममा गोली हानाहान हुँदा एक जना प्रहरी समेत घाइते भएको प्रहरीले जानकारी दिएको छ।
संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग २०७१ असार २१ गतेको जिल्ला अदालत झापाले १७ वर्ष कैद र एक लाख पचास हजार जरिवाना फैसला गरेको थियो।
व्यूरोले पक्राउ गरेका मेचेलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ।
