PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इटालीमा पुन: कोरोनाको त्रास, कडा गरिँदै संक्रमण नियन्त्रण प्रावधान



पहिलोपोस्ट

इटालीमा पुन: कोरोनाको त्रास, कडा गरिँदै संक्रमण नियन्त्रण प्रावधान
EPA

युरोपेली देशहरूमध्य कोरोना भाइरसका कारण सर्वाधिक प्रभावित इटालीमा संक्रमणको नयाँ चरण सुरु भएको छ। कोभिड-१९ संक्रमण र संक्रमणकै कारण ज्यान गुमाउनेहरूको संख्या बढेपछि इटालीमा संक्रमण नियन्त्रणका लागि नयाँ प्रावधानहरू जारी गरिएको छ।

प्रधानमन्त्री ज्यूसेप्पे कोन्टेले लकडाउन अबको उपाय नभएकाले जारी गरिएका प्रावधानहरूलाई कडाईका साथ लागू गर्नुपर्ने बताए। उनले मेयरहरूलाई आफ्नो क्षेत्र राती ९ बजेदेखि बन्द गर्ने अनुमति घोषणा गरेका छन्। त्यस्तै रेस्टुरेन्ट खुल्ने र कति जनासम्म ग्राहक राख्ने भन्ने विषयमा पनि कडाई गरिने बताइएको छ।

आइतवार मात्र ११ हजार ७ सय ५ जना नयाँ संक्रमित थपिए पछि प्रधानमन्त्रीले टिभीमार्फत् उक्त घोषणा गरेका हुन्। शनिवार १० हजार ९ सय २५ जनामा संक्रमण पुष्टि भएको थियो। त्यहाँ हालसम्म कुल ४ लाख १४ हजार मानिसमा संक्रमण देखिएको छ। त्यस्तै ३६ हजार ५ सय जनाको संक्रमण पछि मृत्यु भएको छ।

बीबीसीका अनुसार प्रधानमन्त्री कोन्टेले भने,’देशको अर्थतन्त्रलाई पनि ध्यानमा राख्नु पर्छ। अब हामीले समय खेर फाल्नु हुँदैन। सबैले सुरक्षा प्रावधानहरू अपनाउनु पर्छ। सरकार यहीं छ तर जनता पनि सरकारका लागि हुनु पर्छ।‘

उनले सबैलाई मास्क, शारीरिक दूरी र सरसफाइमा ध्यान दिन आह्वान गरे।

इटालीका विद्यालयहरू बन्द छैनन् तर अध्यापन अवधि घटाइएको छ। साथै दूरी कायम गर्दै विद्यार्थी राखिनेछन्।

मध्यरातसम्म बार तथा रेस्टुरेन्ट खुला रहने छैनन्। सामूहिक जमघट ६ जनामा सीमित राख्न पर्नेछ। स्थानीय सम्मेलन र पर्व विशेष उत्सवमा रोक लगाइएको छ। खेलकुदका कार्यक्रमहरू पनि स्थगित छन्। जिम र स्वीमिङ पुलहरूले पनि ७ दिनभित्र नयाँ नियम लागू गर्नु पर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell