PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

म बालुवाटारमा रिल्याक्स गर्दै छु, डिस्टर्व नगर (कविता)



विधुर ढकाल

म बालुवाटारमा रिल्याक्स गर्दै छु, डिस्टर्व नगर (कविता)
फाइल फोटो

प्रिय जनता !

म १४ वर्ष जेल नेल भोगेर

गोलघरमा जन्जिरले बाँधिएर आएको सरकार हुँ

बालुवाटारमा रिल्याक्स गर्दैछु

डिस्टर्व नगर

सपना देख्दै छु म

समृद्ध नेपाल सुखी नेपालीको

डिस्टर्व नगर

निद्रा खल्बलिन सक्छ

भनेको छु

केही वर्षमै समृद्ध नेपाल सुखी नेपाली हुने छन्

दु:खी गरिब दरिद्रहरु सकिने छन्

रोग भोक र शोकसँग लड्दा लड्दै

प्रिय जनता

दरिद्रता हटाउनका लागि

दरिद्रहरु हटाउनुपर्छ

गरिब हटाउनका लागि गरिबी

तिमी गरिब हुनु त तिम्रै गल्ती

रोगसँग सक्छौ लड

भोक सँग सक्छौ लड

यसैगरी समृद्ध नेपाल सुखी नेपालीको नारालाई साथ देउ

जेसुकै गर

भोकले मर या रोगले मर

तर मर

अनि, डिस्टर्व चाहिँ नगर

म तिम्रो सरकार हुँ

बालुवाटारमा रिल्याक्स गर्दै छु

प्रिय जनता,

१० वर्ष जंगल पसेर

तिम्रै सपनालाई डसेर आएको

म तिम्रो सरकार

खुमलटारमा रिल्याक्स गर्दैछु

डिस्टर्व नगर

समानताको नारा लगाएर

विभेदको नारा लगाएर

समाजवादको नारा लगाएर आएको

तिमी त्यसैका लागि लडेका

म त्यही समाजवादका लागि रिल्याक्स गर्दै छु

समाजवादमा गरिब हुँदैनन्

समाजवादमा विभेद हुँदैन

रोग र भोकले धनी गरिब कसैलाई विभेद गर्दैन

हो यही त हो समाजवाद

फगत गरिब हुनु तिम्रो दोष हो

सक्छौ उपचार गर

सक्दैनौ समाजवादको यो यात्रामा विघ्न नडाल

म सपना देख्दैछु वैज्ञानिक समाजवादको

प्रिय जनता

म तिम्रो समाजवादको यात्राको रोड म्याप तयार गर्दैछु

योजना बुन्दै छु।

कसरी गरिब हटाउने

कसरी रोगी हटाउने

भविष्यको सुन्दर सपना देख्दै छु

डिस्टर्व नगर

प्रिय जनता

१४ वर्ष गोलघर बसेर आएको

म तिम्रो सरकार

१० वर्ष वनबास बसेर आएको

म तिम्रो सरकार

बालुवाटरमा रिल्याक्स गर्दै छु

खुमलटारमा रिल्याक्स गर्दै छु

डिस्टर्व नगर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell