PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारले सच्यायो सचिव सरुवाको निर्णयः पाँचको जिम्मेवारी हेरफेर, अन्यको सरुवा यथावत



पहिलोपोस्ट

सरकारले सच्यायो सचिव सरुवाको निर्णयः पाँचको जिम्मेवारी हेरफेर, अन्यको सरुवा यथावत

काठमाडौँः सरकारले सचिव सरुवाको निर्णय सच्याएको छ। मन्त्रिपरिषद्को असोज २९ गतेको बैठकले सचिव सरुवा गरेको थियो। केही सचिव र विभागीय मन्त्रीको असन्तुष्टिका कारण निर्णय सच्याइएको हो। मुख्य सचिव शंकरदास बैरागीले समेत सरुवामा परेका सचिवको असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए। गत बिहीबारको निर्णय आज सार्वजनिक भएको हो।  

सरकारले सार्वजनिक गरेको निर्णय अनुसार मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय सरुवा गरिएको छ। यस्तै, खगराज बराललाई प्रधानमन्त्री कार्यालय ल्याइएको छ। बराल उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए। यस्तै, प्रधानमन्त्री कार्यालयका केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ। 

पढ्नुस्ः नयाँ मन्त्री थपिएसँगै सचिव सरुवा, को कुन मन्त्रालयमा?

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रष्टमा पठाइएको छ। यसअघि कार्कीलाई जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा गर्नेगरि निर्णय भएको थियो। 

सचिव रमेश सिंहलाई जल तथा उर्जा आयोगमा पठाइएको छ। सिंह यसअघि सहरी विकास मन्त्रालयमा कार्यरत थिए। 

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएका यादव कोइरालालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ। यसअघि युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको भनिएका सूर्य गौतमलाई सार्वजनिक खरिद अनुगमनको कार्यालय पठाइएको छ। 

उर्जा मन्त्रालयमा कार्यरत रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगिएको छ। यसअघि अर्याललाई पर्यटनमा सरुवा गर्नेगरि निर्णय भएको थियो। 

नेपाल ट्रष्टका सचिव सागरकुमार राईलाई जल तथा उर्जा आयोगको सचिवालयमा लगिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell