PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गृहको अनुरोध : चाडपर्वमा भोजभतेर नगर्नू, जो जहाँ छ त्यहिँ बसेर दशैँ मनाउनू



पहिलोपोस्ट

गृहको अनुरोध : चाडपर्वमा भोजभतेर नगर्नू, जो जहाँ छ त्यहिँ बसेर दशैँ मनाउनू

काठमाडौं : नजिकिँदै गरेको बडादशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्न सक्ने भन्दै गृह मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेको छ।

गृहले सोमवार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न अनुरोध गरेको हो।

त्यस्तै, अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेलाजम्मा तथा भोजभतेर नगर्न, यस वर्षको चाड जो जहाँ छ त्यहिँ बसेर मनाउन तथा स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्न/गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।

गृहले दशैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक उपायहरू अवलम्बन गर्न निर्देशन दिइसकेको जनाएको छ।

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी लगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन नदिइ भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायलाई गृहले निर्देशन दिएको छ।

यसैगरी, सबै प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्न, बजारमा आम नागरिकको अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको सहज आपूर्ति व्यवस्था मिलाउन, कालोबजारी, कृतिम अभाव, मिसावट, गुणस्तरहीन सामानको बिक्री गर्न नदिनका लागि नियमित बजार अनुगमन गर्न तथा कानुन विपरितका गतिविधिमा संलग्न हुनेहरूलाई तत्काल कारबाही गर्न मातहत सुरक्षा निकाय तथा सबै प्रमुख जिल्ला अधिकारीलाई गृह निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell